×

वीरगञ्ज १३ असोज । बाराको सवर्ण गाउँपालिकाका वडाध्यक्षमाथि बलात्कारी संरक्षण गरेको आरोप लागेको छ । जिल्लाको सुवर्ण गाउँपालिका–५ का वडाध्यक्ष राम एकवाल साहले बलात्कारीलाई संरक्षण दिएको स्थानीयबासीले आरोप लगाएका छन् ।

गाउँपालिकामा बालिकाको बलात्कार भएपनि वडाध्यक्ष साहले नजिकै रहेको इलाका प्रहरी कार्यालय कवही गोठलाई जानकारी नदिएको स्थानीयबासीले बताए । साथै, वडाध्यक्षले सो घटनालाई रकमको प्रलोभनमा मिलाउन खोजेको भनी हातपात हुनु र तीन दिनपछि मात्र बलात्कारको मुद्दा बारा प्रहरी कार्यालयमा दर्ता गर्नु आफैमा रहस्यपूर्ण रहेको स्थानीयवासीको भनाइ छ ।

गत भदौ १ गते अर्थात विश्वकर्मा पूजाको दिन सो गाउँपालिकाको वडा नं. ५ ओरैया की एक १२ वर्षीया मुस्लिम बालिकालाई राति आठ बजेतिर स्थानीयवासी २५ वर्षीय शिवपुजन यादवले बलात्कार गरेको विषयमा पीडित बालिकाका बुबा मन्सेर मियाँले वडाध्यक्ष साहलाई सिफारिस लेखी दिन आग्रह गर्दा बलात्कार जस्तो जघन्य अपराधको सिफारिस गर्न मिल्दैन भनी जवाफ दिएका थिए ।

यसैबाट रुष्ट भएका स्थानीय केही युवाहरूले उनलाई बैठकमै हातपात र कुटपिट समेत गरेका थिए । घटनालाई सामसुम बनाउन वडाध्यक्ष साहले घटनालाई दबाउन यस्तो गरेको पिडित पक्षधरको आरोप छ ।

यता, आफुमाथि भएको हातपात तथा कुटपिट गरेको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको वडाध्यक्ष साहले बताए ।

स्थानीय केही युवाले हातपात र कुटपिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय बारामा मुद्दाको जाहेरी दिन जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको वडाध्यक्षको आरोप छ ।

सो विषयलाई लिएर वडाध्यक्ष साहले स्थानीय तीन जना युवाविरुद्ध किटांनी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय बारामा जाँदा मुद्दा दर्ता गर्न नमानेको वडाध्यक्षले साहले बताए ।

वडाध्यक्ष साहलाई कुटपिट भएको हो वा होइन, शरीरमा घाउ र कुनै चोटपटक नदेखिएकोले मुद्दा दर्ता हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

यता बलात्कारका अभियोग लागेका शिवपुजन यादव फरार रहेकाले उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कारको घटनालाई लिएर वडाध्यक्ष साहमाथि हातपात तथा कुटपिट गर्नु अपराध भएकाले यस सम्बन्धि मुद्दा दर्ता नगरेर प्रहरीले अपराधीलाई संरक्षण गरेको आरोप स्थानीय जनप्रतिनिधि किशोरीप्रसाद यादवको छ ।

Back to top