×

वीरगञ्ज ६ असोज । वीरगञ्जस्थित नारायणी अस्पतालमा केहि बेरकालागि रोकिएको पिसिआर परिक्षण पुन: सूचारू भएको छ ।

अस्पतालमा रिएजेन्ट अभाव हुँदा मंगलबार केहि बेरकालागि परिक्षण रोकिएपनि काठमाडौँबाट रिएजेन्ट आएपछि परिक्षण पुन: सुरु भएको हो ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डट डा. सञ्जय कुमार ठाकुरले परिक्षण पुन: सुरु भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले रिएजेन्ट नपठाउँदा परिक्षण प्रभावित हुनेगरेको उनले बताए । उनले विगत दुई हफ्तादेखि मन्त्रालयले अस्पतालमा परिक्षणको लागि रिएजेन्ट नपठाएको जानकारी

समेत दिए ।

'विगत दुई हफ्तादेखि स्वास्थ्य मन्त्रालयले हामीलाई रिएजेन्ट पठाएको छैन, अहिले अस्पतालले उधारोमा काठमाडौँबाट रिएजेन्ट मगाएर परिक्षण गर्दैछ । आज त्यहाँबाट आउन ढिलो भएपछि परिक्षण केहि बेर अवरोध भएको थियो, अहिले परिक्षण पुन: सुरु भएको छ' उनले भने ।

उनले अब स्वास्थ्य मन्त्रालयले रिएजेन्ट नपठाए परिक्षण रोक्न आफुहरु बाध्य हुने चेतावनी समेत दिए । प्रदेश सरकारलेपनि आश्वाशन दिएर कुनै सहयोग नगरेको उनले आरोप लगाए ।

'हामी दैनिक ३०० रिएजेन्ट उधारोमा मगाएर परिक्षण गर्दै छौं, कहिलेसम्म उधारोमा मगाएर परिक्षण गर्ने? प्रश्न गर्दै उनले भने, 'प्रदेश सरकारले पनि विगत १५ दिनदेखि आश्वासन मात्र दिँदै छ, सहयोग केहि गरेको छैन ।'

उनले टेन्डर प्रकृया मार्फत रिएजेन्ट खरिद गर्न अस्पतालले तयारी गरेपनि त्यसमा समय लगाउँन सक्ने बताउँदै स्वास्थ्य मन्त्रालयले तत्काल केहि आवश्यक कदम उठाउन आवश्यक रहेको बताए ।

डा. ठाकूले वीरगञ्ज महानगरपालिकाबाट उपलब्ध भएको रिएजेन्ट अस्पतालको पिसिआर मेसिनमा काम नगरेको बताए ।

Back to top