×

वीरगञ्ज ४ असोज । पर्सामा फेरी १२ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालमा शनिबार अबेर राति पर्सा र बाराको विभिन्न स्थानबाट ल्याइएको थ्रोट स्वाबको नमुनालाई गरिएको परिक्षणमा थप १२ जना कोरोना पोजेटिभ भएका हुन् ।

अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार दुई महिलासहित १५ वर्षीय किशोरदेखि ८८ वर्षीय वृद्धसम्ममा कोरोना देखिएको हो ।

थपिएका अधिकतम संक्रमित जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकाका वासिन्दा हुन् । वीरगञ्ज कारागारमापनि एक जनामा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसिया अनुसार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १, ३, ५, ६, १५ र १९ मा एक/एक जना र वडा नम्बर १३ मा दुई जना संक्रमित थपिएका छन् ।

त्यसैगरी पर्सागढी नगरपालिकाको वडा नम्बर ७ र धोविनी गाउँपालिकाको वडा नम्बर ४ मा पनि एक/एकमा संक्रमण पुष्टि भएको उनले बताए । थपिएका अर्का एक जना संक्रमित जीपुतर टेडका वासिन्दा हुन् ।

संक्रमितहरुको सिटि भ्यालु २० देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए ।

Back to top