×

वीरगञ्ज ४ असोज । संविधान जारी भएको दिन प्रहरीको गोलिबाट ज्यान गुमाएका सत्रुधन पटेलको पाँचौं स्मृतिमा शनिबार आयोजित कार्यक्रममा सांसद् हरिनारायण रौनियारले मधेसी जनतालाई अधिकारि दिलाउँन अर्को आन्दोलन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रमको विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका पर्सा क्षेत्र नं. ३ का सांसद् रौनियारले मधेसी जनताको लाश माथि चढेर ल्याइएको संविधानलाई आफुहरुले कदापि स्वीकार नगर्ने बताए । उनले जनताको अधिकारका लागि आफुहरु एक पटक पुन: संघर्ष गर्न तयार रहेको समेत प्रतिबद्दता व्यक्त गरे ।

नेपालको संविधान २०७२ जारी भएको दिन वीरगञ्जमा भइरहेको मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका पटेलको स्मृतिमा उनको जन्मस्थान पकाहमैनपुर गाउँपालिकामा आयोजित कार्यक्रममा सांसद् रौनियारले यस्तो बताएका हुन् ।

संविधान सभा मार्फत संविधान घोषणा भएको दिनलाई कालो दिनको रुपमा बताउँदै मधेस केन्द्रित दलहरुको अह्वानमा वीरगञ्ज निकालेको बिरोध र्‍यालीमा प्रहरी र प्रदर्शनकारीहरु विच झडप भए पछि वीरगञ्जको माइस्थान चौकमा प्रहरीको गोली लागेर पटेलको निधन भएको थियो ।

सांसद् रौनियारले मधेसको सपनालाई पूरा गराउन अर्को आन्दोलन आवश्यक रहेको बताए । उनले मधेसी जनतालाई अहिलेपनि नेपालमा गैर नेपाली जस्ता व्यवहार हुने बताउँदै दु:ख व्यक्त गरे । रौनियारले मधेसी दलको कमजोरीकै कारण शहिदहरुको सपना पूरा हुनमा ढिलाई हुँदै गएको बताए ।

सांसद् रौनियारले भने, ‘मधेसी जनता नेपालको भुमी पुत्र हुन्, नेपाल देशको स्थापना भएको हजारौँ वर्षदेखि यहाँ मधेसी जनता बसोबास गरिरहेका छन्, हामीहरुलाई गैर नेपाली जस्तो व्यवहारगरु दुर्भाग्यपूर्ण छ ।’

Back to top