×

वीरगञ्ज ४ असोज । सरकारले कोरोना महामारी नियन्त्रणका लागि लगाएको निषेधाज्ञा खुकुलो गर्दै सार्वजनिक यातायात र बजार खुलाएपछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्यमी आशावादी बनेका छन् । आवागमन सहज भएसँगै वीरगञ्ज नाकाबाट हुने आयात बढेको छ ।

वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट आयात परिमाण बढेको प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले बताए । ‘आवागमन सहज भएपछि भन्सारबाट आयात कारोबार पनि बढेको छ । दैनिक जाँचपास हुने गाडीको संख्या ६०० को हाराहारी पुगेको छन्,’ प्रमुख भन्सार अधिकृत खत्रीले बताए ।

सामान्य अवस्थामा दैनिक करीब ७ सय गाडी मालसामान भित्रिने यो भन्सारबाट भदौ अन्तिमसम्म ४५० को हाराहारी गाडी भित्रिएका थिए । बन्दाबन्दी शुरू भएलगत्तै यो संख्या १५० मा झरेको थियो । यातायात खुलेपछि नयाँ सवारीसाधन छुटाउनेक्रम पनि बढेको खत्रीले जानकारी दिए । ‘चाडपर्वलक्षित सामान र नयाँ सवारीसाधनको आयात बढेको छ,’ उनले भने ।

उत्पादन र बजार बढ्ने अपेक्षा

दशंैतिहारजस्ता चाडपर्व नजिकएका बेला आवागमन र बजार खुकुलो भएपछि उद्योग व्यापारले चाँडै गति समात्ने विश्वास वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको छ । ‘पहिलाभन्दा सहज भएको छ । तर, अझै पनि बजार खोल्ने समय सीमित छ । ग्राहक पनि अपेक्षा गरिएअनुसार आउन सकेका छैनन् । चाडपर्व नजिकिएकाले व्यापारले चाँडै बढ्न सक्छ,’ अध्यक्ष केडियाले भने ।

स्थानीय प्रशासनले वीरगञ्ज बजार बिहान ११ देखि अपरा≈न ४ बजेसम्म खोल्न भनेको छ । विगत ६ महीनादेखि बन्दाबन्दी र निषेधाज्ञाको मार खेपेका उद्योगको उत्पादन र बजार बढ्न थालेको चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले बताए । ‘आवागमन र बजार सहज भए पनि औद्योगिक र व्यापारिक गतिविधि स्वाभाविक रूपमा बढ्न थालेको छ,’ अध्यक्ष चाचानले भने, ‘नियन्त्रणका कारण थलिएको उत्पादन र व्यवसायले गति लिन भने समय लाग्छ ।’

चार महीनाको बन्दाबन्दी र त्यसलगत्तै लगाइएको निषेधाज्ञाले कोरिडोरका करीब १ हजार उद्योग प्रतिष्ठानको उत्पादन प्रभावित भएको थियो । कोरोना नियन्त्रणका लागि निषेधाज्ञा र सुरक्षाका मापदण्डमा कडाइले अधिकांशको उत्पादन बन्द भएको थियो । उत्पादन रोकेका उद्योगले आवागमन सहज भएपछि उत्पादन थालेका छन् ।

कोरिडोरका दर्जन बढी उद्योग प्रतिष्ठानका कामदार कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले कडाइ गर्दा अत्यावश्यकीय उद्योगसमेत केही दिन बन्द भएका थिए । कोरोनाको त्रास र प्रशासनको कडाइका कारण कतिपय उद्योगले उत्पादन रोकेका थिए ।

सञ्चालनमा रहेका उद्योगसमेत क्षमताको २० प्रतिशतको हाराहारीमा चलेका थिए । यहाँका उद्योग बन्दाबन्दीमा क्षमताको एक चौथाइमा खुम्चिएका थिए । साउनको पहिलो साता बन्दाबन्दी हटेसँगै छोटै समयमा लयमा फर्किन लागेको उत्पादन निषेधाज्ञापछि खुम्चिएको थियो ।

संक्रमणको डर अझै

उद्योग र व्यापारका क्रियाकलाप बढे पनि कोरोना संक्रमणको डर अझै नहटेको उद्योगी चाचान बताउँछन् । बन्दाबन्दी र निषेधाज्ञाले थलिएको उद्यम व्यवसाय समान्य अवस्थामा फर्किन कम्तीमा ६ महीना लाग्ने उनले बताए । ‘अहिले अवस्था केही सहज भए पनि संक्रमण बढ्ने सम्भावना टरिसकेको छैन । सरोकारका पक्षमा त्रास कायमै छ,’ चाचानले भने ।

संक्रमण फैलिन नदिन सतर्कता नै अहिलेको विकल्प भएकाले सुरक्षा मापदण्ड पालना गर्दै उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाइनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव अरविन्द अमात्यको सुझाव छ । ‘अहिले सुरक्षा सतर्कता अपनाएर आर्थिक गतिविधिलाई अघि बढाउनुभन्दा अर्को सहज उपाय छैन,’ उद्यमी अमात्यले भने ।

कामदार आपूर्तिको चिन्ता

वीरगञ्ज क्षेत्रका उद्योगले गति लिन थालेसँगै उद्यमीलाई कामदार आपूर्तिको चिन्ता बढ्न थालेको छ । उत्पादन घटेपछि आफ्नो देश फर्किएका कामदार आउन पाएका छैनन् । नेपाल–भारत सीमाना बन्द भएपछि कामदार आउन नसकेका हुन् ।

अत्यावश्यकीय आवागमनका लागि वीरगञ्ज नाका खोलिए पनि कामदार भित्र्याउन नपाएको उद्योगीले बताए । बारा–पर्साका उद्योगमा करीब २५ प्रतिशत भारतीय कामदार काम गर्छन् ।

‘कोरोना परीक्षण गराएर कामदार भित्र्याउने व्यवस्था मिलाइनुपर्छ । उत्पादन घटेको बेला खाँचो नपरे पनि उत्पादन बढेपछि अब कामदारको अभाव हुन्छ,’ एक उद्योगीले भने ।

आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

Back to top