×

वीरगञ्ज २ असोज । विहिबार एकैदिन तोलामा नौ सय रुपैयाँले सस्तिएको सुनको मूल्य शुक्रबार पुनः चार सय रुपैयाँले महँगिएको छ । छापावाल र तेजावी दुवै सुनको मूल्य तोलामा चार/चार सयले बढेको हो ।

अन्तरराष्ट्रिय बजारमा आएको सुनचाँदीको मूल्यमा आएको उतारचढावलाई पछ्याउँदै नेपाली बजारमा पनि यी धातुको मोलमा दिनहुँ घटबढ भइरहेको छ । यसै क्रममा शुक्रबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको कारोबार मूल्य छापावाल सुनका लागि ९७ हजार र तेजावी सुनको ९६ हजार पाँच सय कायम भएको छ । यस्तै, विहिबारभन्दा १० रुपैयाँले महँगिएको चाँदी तोलाको १३ सय ३० रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा आज विहान सुन र चाँदीको मूल्य क्रमशः प्रतिऔंस १९५२. ७३ अमेरिकी डलर र २७.०६ डलरमा कारोबार भएको छ ।

कोभिड-१९ को असरले विश्वव्यापी रुपमै लगानीका विकल्पहरु खुम्चिँदा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यले केही अघि नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको थियो । यससँगै नेपाली बजारमा गत जनवरी १ मा ७३ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो ।

त्यसयता रसियाले कोभिड-१९ भ्याक्सिनको उत्पादन शुरु गर्ने खबरसँगै ओरालो लाग्न थालेको सुनको मूल्य नेपाली बजारमा पनि तोलाको ९५ हजार रुपैयाँ हाराहारीसम्म ओर्लिएको थियो ।

गत आइतवार तोलाको एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १० रुपैयाँले बढेर तोलाको एक हजार ३ सय २० रुपैयाँ पुगेको थियो । मंगलबार पुनः २० रुपैयाँले बढेर तोलाको एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार स्थिर हुँदै विहिबार भने २० रुपैयाँले घट्यो ।

अन्तरराष्ट्रिय बजारमा विहिबार प्रतिऔंस मूल्य सुन १९४४ .७४ अमेरिकी डलर र चाँदी २६.८८ डलरमा कारोबार भएको थियो ।

Back to top