×

वीरगञ्ज २ असोज । प्याजको कालोबजारी गर्ने विरुद्ध पर्साको स्थानीय प्रशासनले कारवाही सुरु गरेको छ ।

भारतले प्याजको निर्यातमा रोक लगाएपछि कृतिम अभाव सृजना गरेर चर्को मुल्यमा प्याजको कालोबजारी गरेका व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय पर्साले कारवाही गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्तले टोलिले प्याज कालोबजारी गरेको आरोपमा शुक्रबार वीरगञ्जमा एक पसललाई सिल गरेको छ भने चार पसलका जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन् आदेश दिएको छ ।

अनुगमनको क्रममा सहयोग नगरेका एउटा पसललाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । त्यसैगरी ४ वटा पसलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन पत्रचार गरिएको छ ।

दैनिक उपभोगको बस्तुमा मूल्य वृद्धि गर्दै विक्री वितरण र कालोबजारी गर्नेहरु प्रति पर्साको प्रशासन कठोर बन्दै गएको छ । कालोबाजारी, मूल्य वृद्धि र उपभोक्ता ठग्नेलाई कडा कारवाही गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले चेतावनीसमेत दिएका छन्।

उनले बजारमा कालोबजारी र मूल्य वृद्धि गरेर उपभोक्ता ठगेको पाइएमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

पर्सा प्रशासनले यसअघिपनि वीरगञ्जको विभिन्न स्थानमा कालोबजारी गरिरहेको आरोपमा दर्जनभन्दा बढी पसललाई कारवाही गरिसकेको छ ।

Back to top