×

वीरगञ्ज १ असोज । गण्डक अस्पतालका कर्मचारी रेम्डेसिभिर औषधीको कालोबजारीमा संलग्न रहेको खुलेको छ ।

भदौ महिनाको सुरुवाती समयसम्म रेम्डेसिभिर औषधी नेपालमा सहज रुपमा नपाइने अवस्था रहेको र त्यही बेला अस्पतालका कर्मचारीले यो औषधी महंगो मूल्यमा बिक्रि गरेको खुलेको हो ।

अस्पतालमा गम्भीर अवस्थाका संक्रमितलाई चिकित्सकले रेम्डेसिभिर औषधी प्रयोग गर्नुपर्ने भन्दै सिफारिस गरिदिने र अस्पतालका कर्मचारीले महंगो मूल्यमा यो औषधी उपलब्ध गराउने गरेका थिए ।

गएको साउन अन्तिम साता कोभिड संक्रमित भएर उपचारका लागि गण्डक अस्पताल भर्ना भएका वीरगञ्जको नगवाका एक जना कोभिड संक्रमितको परिवारसँग रेम्डेसिभिर औषधीका लागि अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीले झण्डै २ लाख रुपैयाँ लिएका हुन् ।

अस्पतालको फार्मेसीमा कार्यरत बाराको पर्सौनी गाउँपालिका ४ का सर्फराज आलमले संक्रमितको उपचारका लागि ६ भाइल रेम्डेसिभिर औषधीको १ लाख ९६ हजार लिएका हुन् ।

संक्रमितको परिवारसँग आलमले साउन ३१ गते, भदौ १ र २ गते गरेर तीन पटक गरी १ लाख ९० हजार बुझेका थिए ।

उनले पहिलो पटक गण्डक अस्पतालकै मुलद्वार अगाडी संक्रमितका परिवारसँग ९५ हजार ५ सय रकम बुझेका थिए भने १ गते तराई हस्पिटलभित्र ७० हजार र २ गते संक्रमितको घरैमा पुगेर २५ हजार रकम बुझेका थिए ।

बुवाको ज्यान बचाउन संक्रमितका छोराले जग्गा घितोमा राखेर चर्को ब्याजदरमा लिएको पैसा रेम्डेसिभिर खरिदका लागि आलमलाई बुझाउन बाध्य भएका थिए ।

आलमले ४ भाइल अस्पतालको फार्मेसीबाटै उपलब्ध गराइदिएका थिए भने २ भाइल वीरगञ्जको दुर्गा हल नजिकबाट लिन संक्रमितका परिवारलाई पठाएका थिए । भदौ १ र ३ गते १/१ भाइल रेम्डेसिभिर संक्रमितका परिवारले दुर्गा हल नजिक पुगेर लिएका थिए ।

तीन पटक गरेर १ लाख ९० हजार ५ सय रकम बुझेका आलमले पटक पटक गरेर भाइल उपलब्ध गराएका थिए ।

संक्रमितको उपचारमा खटिएका डा.प्रशान्त बरनवालले रेम्डेसिभिर औषधी चलाउन सिफारिस गरेका थिए । डा. बरनवालले संक्रमितको अवस्था गम्भीर देखिएकाले आफूले रेम्डेसिभिर चलाउन सिफारिस गरेको बताएका छन् । त्यसबेला नेपालमा रेम्डेसिभिरको उपलब्धता नरहेकाले आफूले औषधी उपलब्ध गराउन उनका परिवारलाई भनेको र परिवारले कहाँबाट औषधी ल्याए भन्ने जानकारी नभएको बताए ।

पिडित परिवारले जिल्ला प्रशासन कार्यालय पर्सामा आज उजुरी दिएपछि घट्ना बाहिर आएको हो । परिवारले प्रशासन कार्यालयमा दिएको निवेदनमा गण्डक अस्पताल, चिक्तिसक डा. प्रशान्त बरनवाल र सरफरोज आलमलाई विपक्षी बबनाइएको छ ।

उजुरी बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले घट्नाबारे थप अनुसन्धान गरी संलग्न जोकोहीलाई पनि कडा भन्दा कडा कारवाही गर्ने प्रतिबद्दता व्यक्त गरे ।

Back to top