×

वीरगञ्ज १ असोज । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज साउन १० गतेदेखि सुरु भएको निषेधाज्ञालाई निरन्तरता दिंदै छैठो पटक थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार एउटा सूचना जारी गर्दै वीरगञ्जमा लागेको निषेधाज्ञा १५ थप गरेको छ । प्रशासनले आजदेखि लागु हुनेगरी अशोज १५ गतेसम्मका लागि निषेधाज्ञालाई थपेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा आज बिहान बसेको बैठकले निषेधाज्ञा थप गरेपनि पहिलाको भन्दा नियमहरु थप खुकुलो बनाएको छ ।

बैठकमा सार्वजनिक सेवा प्रवाह गर्ने सबै कार्यालय र संघसंस्थाबाट आवश्यक स्वास्थ्य सुरक्षा सर्तकर्ता अपनाउदैं दिइएको निर्देशन पालनागरी सेवा प्रवाह गर्न दिने निर्णय भएको छ । सेवा लिने र दिनेले कम्तीमा दुई मिटर दुरी कायम गर्नुपर्ने र अनिवार्य रुपमा मास्क प्रयोग गर्न प्रशासनले निर्देशन दिएको छ ।

यस्तै, सवारी साधनको हकमा पचास प्रतिशत मात्र यात्रु राखी पचास प्रतिशत बढी भाडा लिएर आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र सवारी साधन संचालन गर्नुपर्ने प्रशासनले जनाएको छ ।

त्यसैगरी बिहान ८ बजेसम्म मात्रै खुल्न भनिएका फलफुल पसल खोल्न अब समय तोकिएको छैन । तर छुट्याइएको निश्चित स्थान बाहेक अन्य स्थानमा गएर फलफूल विक्रि गर्नेलाई भने कारबाही गरिने प्रशासनको चेतावनी छ ।

योसँगै अब बिहानैदेखि दिनभर फलफुल पसल सञ्चालन गर्न सकिने छ । यस्तै अन्य बजार तथा पसलहरु भने बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खोल्ने यसअघिकै निर्देशनलाई यथावत राखिएको छ ।

कोभिड संक्रमण फैलन नदिन "नो मास्क नो मुभ" अभियानलाई कडाइका साथ लागु गर्न मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्नेलाई कारबाही गर्ने पनि चेतावनी दिएको छ ।

Back to top