×

वीरगञ्ज १ असोज । कोरोना महामारी नेपाल भित्रिएसँगै प्रभावित रहेको वीरगञ्जस्थित नारायणी अस्पतालको ओपिडीलगायतका जनरल सेवाहरु पुन: सञ्चालनमा आएको छ ।

विगत पाँच महिनादेखि बन्द रहेको नारायणी अस्पतालको ओपिडी सेवालाई आज (बिहिबार) बाट सञ्चालनमा ल्याइएको हो । स्थानीय प्रशासनले साउन १० गतेदेखि निरन्तरता दिँदै आएको निषेधाज्ञालाई आजबात थप खुकुलो बनाएपछि अस्पतालमा ओपिडीसहितको जनरल सेवाहरु सुरु भएका हुन् ।

अस्पतालमा प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले ओपिडीसहित अन्य सेवाहरु नयाँ मापदण्ड अनुसार सुरु भएको जानकारी दिए ।

लामो समयदेखि नारायणी अस्पतालका सेवाहरु बन्द रहेका कारण सेवाग्राही चर्को मुल्य तिरेर निजि अस्पताल र स्वास्थ्य संस्थाहरुबात स्वास्थ्य सेवा लिन बाध्य भएका थिए ।

डा. चौरसियाले ओपिडी अन्तर्गतका मेडिसिन, इनटी, अर्थो, गाइनो, दन्त, रेडियोलोजी, आँखालगायत सबै विभागबाट सेवा सुचारु गरिएको बताए । हाललाई हरेक विभागमा प्रतिदिन अधिकतम २५ जनाको मात्र स्वास्थ्य जाँच गर्ने व्यवस्था अस्पतालले मिलाएको उनले जानकारी दिए ।

अस्पतालमा प्रसुति, इमरजेन्सीलगायतका अन्य महत्वपूर्ण सेवाहरु पहिलादेखि नै आंसिक रुपमा सञ्चालनमा छन् ।

विगत एक हफ्तादेखि अस्पतालले ओपिडी सेवाहरु सञ्चालनमा ल्याउने प्रयास गरिरहेको भएपनि केहि आन्तरिक कारणले सम्भव हुनसकेको थिएन ।

आजबाट शुरु भएको ओपिडीलगायतको जनरल सेवालाई थप सहज बनाउँन एक हफ्ता ट्रयाल गरिने डा. चौरसियाले बताए । 'बुधबार मात्र फेरि पर्साका १७ जना संक्रमित थपिएका छन्, संक्रमितको ग्राफ एक हप्ता सम्म हेर्छौ, सुधारोन्मुख भएमा सेवा थप सहज बनाउँदै लैजाने छौं ।'

अस्पतालको केहि जनशक्ति अझैपनि कोरोना संक्रमित भएर आइसोलेशनमा बसिरहेको कारण सेवाहरु प्रभावित हुनसक्ने बताउँदै उनले सेवाग्राहीलाईपनि समन्वय गर्न आग्रह गरे ।

Back to top