×

वीरगञ्ज ३१ भदौं । असोज १ गतेदेखि लामो दुरीका सवारी सञ्चालन गर्न दिने सरकारको निर्णयसँगै बुधबार वीरगञ्ज बसपार्कमा चहलपहल बढेको छ ।

वीरगञ्ज बसपार्कमा झण्डै ६ महिनादेखि थन्किएका सवारीहरुको सरसफाइ भईरहेको देखियो । असोज १ गते विश्वकर्मा पुजासँगै लामो दुरीका सवारी सञ्चालन गर्न दिने सरकारको निर्णयसँगै वीरगञ्जका यातायात व्यवसायीहरु तयारीमा जुटेका हुन् ।

चैत १० गतेबाट ग्यारेजमा थन्किएका सवारीहरु सडक गुड्ने भएपछि यातायात व्यवसायी हर्षित देखिन्छन् । चैत १० गतेबाट ग्यारेजमा थन्किएका सवारीहरु मध्ये अधिकांशमा समस्या आएको यातायात व्यवसायीहरुको भनाई छ ।

झण्डै ६ महिना ग्यारेजमा थन्किएको एउटा सवारीलाई मर्मत गरि सञ्चालन गर्न औसतमा पनि १ लाख ५० हजार देखि २ लाख सम्म लाग्ने बसपार्कमा आफ्नो सवारी मर्मत गराईरहेका व्यवसायी दिपेन्द्र दासले बताए ।

“६ महिना भयो, ईन्जिन स्टार्ट भएको छैन । मोबिल जमिसक्यो, पाईपहरुले एयर लिसके, मुसाहरुले कतिठाउँमा वायरिंग काटे, टायरमा हावा सकिसक्यो”, दास भन्छन्, “औसतमा पनि १ लाख ५० हजार लगाए ठीक हुन्छ ।”

यातायात व्यवसायी दासका अनुसार विश्वकर्मा पुजा पछि अवस्था हेरेर मात्र सवारी सञ्चालन गरिनेछ । सरकारको निर्णय जतिबेला पनि फेरिन सक्ने भएका कारण उनी अरुले सवारी सञ्चालन गरेमात्र आफुले पनि गर्ने विचारमा छन् । वीरगञ्ज बसपार्कमा हाल सवारी मर्मत गर्नेहरुको भ्याईनभ्याई छ ।

Back to top