×

वीरगन्ज ३० भदौ । वीरगञ्ज हेल्थ केयर अस्पतालले चौबिसै घण्टा आकास्मिक तथा जनरल अस्पतालको रुपमा आजबाट सेवा सुचारु गरेको छ ।

नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालको रुपमा रहेको वीरगञ्ज हेल्थ केयरमा रहेका कोरोना संक्रमित बिरामीहरु अस्पतालबाट निको भई डिस्चार्ज भएपछि अस्पताललाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार फ्युमिकेसन सेनिटाजेसन रङ्गरोगन सरसफाइ गरी जनरल सेवा सुरु गरिएको अस्पतालले आज जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालले २४ सै घण्टा इर्मजेन्सी तथा ट्रमा सेवा, मुटु रोग, जनरल फिजिसियन, न्युरो एण्ड ट्रमा सेवा, लेप्रोस्कोपी सर्जरी, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ, हड्डी रोग, सिआर मेसिनबाट हड्डीको अप्रेशन, किड्नी सम्बन्धि उपचार तथा डायलायसिस सेवा, डेन्टल सेवा, सिटि स्क्यान, भिडियो एक्सरे क्याथ ल्याब सहित मुटु रोगको सम्पूर्ण उपचार सेवा, स्पाईरोमेट्री, टिएमटी, कलर डपलर, ईको तथा ईसिजी अत्याधुनिक ल्याब लगायतका सेवाहरु उपलब्ध गराएको अस्पतालका प्रबन्ध निर्देशक डाक्टर अबुलहैस अन्सारीले बताउनुभयो ।

वीरगञ्ज हेल्थ केयरले गरिब, सर्बसाधरणहरुका लागी नेपाल सरकार बिपन्न नागरिक उपचार सेवा कार्यक्रम मातहत प्रदेश २ मै पहिले पटक मुटु रोग, हेड ईन्जुरी, स्पाईनल इन्जुरीको उपचारमा लागेको खर्च मध्ये १ लाख रुपैयाँ छुटको सुविधा समेत प्रदान गर्दै आएको अन्सारीले बताउनुभयो ।

अस्पतालद्धारा जारी प्रेस बिज्ञप्तीमा अस्थायी कोभिड अस्पतालको रुपमा ५ हप्तामा २ सय ४९ जना संक्रमितको उपचार गर्न सफल भएको र मृगौलाको डायलायसिस गर्दै गरेका, कडा कोभिड संक्रमण देखिएका, मुटु, उच्च रक्तचाप लगायत दिर्घरोगका समस्या भएका १ सय जना भन्दा बढीलाई आईसियुमा राखेर उपचार गरी निको बनाई घर फर्काइएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Back to top