×

वीरगञ्ज २९ भदौं । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डक हस्पिटलमा उपचार गरिरहेकी एक महिलाको मृत्यु भएको हो ।

अस्पतालमा १६ दिनदेखि भर्ना भएर कोरोनाको उपचार गराइरहेकी ५५ वर्षीया महिलाले आइतबार राति ज्यान गुमाएकी छन् । नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसिया अनुसार उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १० की बासिन्दा हुन् ।

विगत लामो समयदेखि फोक्सोको समस्याले पिडित महिलामा पछिल्लो समय श्वासप्रश्वासमा समस्या र अक्सिजनको कमि देखिएको थियो । उनलाई अस्पतालको आइसियू कक्षमा राखेर उपचार गरेपनि ज्यान बचाउँन नसकिएको डा. चौरसियाले भने ।

उनी भदौ १२ मा कोरोना अस्पताल भर्ना भएकी थिइन् । ‘संक्रमित महिलाका दुवै फोक्सोमा समस्या थियो,’ चौरसियाले भने, ‘उनमा श्वासप्रश्वासको समस्या र शरीरमा अक्सिजनसमेत नपुगेको अवस्था थियो ।’

उनको मृत्युसँगै पर्साका ४३ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

Back to top