×

वीरगञ्ज २६ भदौं । वीरगञ्ज महानगरपालिका वडा न. १३ स्थित श्रीरामजानकी मठ क्षेत्रभित्र श्रीसिया नदीको किनारामा अत्याधुनिक शवदाह गृह निर्माणको काम थालनी भएको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या बढीरहेको अवस्थामा मृतकको शब व्यवस्थापनमा समस्या देखिन थालेपछि शबदाह गृह निर्माणको काम शुरु गरिएको हो ।

कतिपय ठाउँमा त शबलाई व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेका घटनाहरु पनि प्रकाशमा आए । कोरोना संक्रमणका कारण ज्यान गुमाउँदा आफन्तजनले समेत अन्तिम संस्कार गर्न नपाउदा दुःख लाग्नु स्वभाविक हो । फलस्वरुप शबलाई धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने व्यवस्थासहित विशेष शब दाह गृह निर्माण हुन थालेको हो ।

विगतमा शब व्यवस्थापनका समयमा स्थानीयको अवरोधका कारण तनाब उत्पन्न हुँदा प्रहरीले हवाई फायर समेत गर्नुपरेको थियो । साथै मृतकका आफन्तले समेत मानसिक तनाब झेल्नुपरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तको संयोजक्तवमा निर्माण हुन लागेको घाटको व्यवस्थापन तथा निर्माणका लागी राजकुमार दारूकाको अध्यक्षतामा १७ सदस्यीय निर्माण तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

सामुदायिक आर्यघाट वीरगञ्ज १३ पर्सा नामाकरण गरिएको घाट निर्माण तथा व्यवस्थापन समितिको सल्लाहाकारमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ् र जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त रहनुभएको छ ।

व्यवस्थापन समितिको उपाध्यक्षमा तुफान फारुक अन्सारी, सचिबमा उमेशलाल सहनी, कोषाध्यक्षमा राजकुमार महतो कोइरी, सदस्यमा बिनोद महतो, प्रधुम्न सेढाई, लगायत रहेको ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।

Back to top