×

वीरगञ्ज २६ भदौं । जसपाका नेता तथा सर्लाहीको १ को क बाट निर्वाचित सांसद उपेन्द्र महतोले लालबाबु राउत नेतृत्वको वर्तमान प्रदेश सरकारले सोचे अनुरुप काम गर्न नसकेको बताएका छन् ।

वीरगञ्जमा सञ्चालित एक स्थानीय रेडियोसँगको अन्तर्वार्तामा कुरा गर्दै उनले हाल कोरोना महामारी नियन्त्रणमा संघीय सरकारले सहयोग नगरेको भए पनि प्रदेश सरकारसँग भएकै स्रोतसाधनको उपयोग गरेर पनि काम गर्न नसकेको बताए ।

६ महिनासम्म पनि एउटा पिसिआर मेसिन समेत खरिद गर्न नसक्नु यसको उदाहरण भएको उनले बताए । उनले भने, ‘आफुसँग भएको पैसा खर्च गरी सकेर संघले सहयोग गरेन भने पो एउटा कुरा, भएको पैसा पनि खर्च गर्न नसक्ने अनि अरुलाई मात्र गाली गर्ने ?’

‘मुख्यमन्त्रीले आफ्नो बुद्धिले भ्याएसम्म गर्नुभयो, बाँकी उहाँको बुद्धिले भ्याएन, अझै गर्न सक्ने अवस्था थियो,’ प्रदेश सभासद महतोले भने, ‘मुख्यमन्त्री पास मात्र भए जबकि डिस्टिङ्गसन ल्याउनुपर्ने थियो ।’

प्रदेश सरकारमा नेतृत्व परिवर्तनको सम्भावना टरेको हो ? भन्ने प्रश्नमा महतोले समायोजन प्रक्रिया अघि बढिरहेकाले सोही अनुरुप जसपाको संसदीय दलको नेता पनि चुनिने भएकाले नयाँ नेता, नयाँ मुख्यमन्त्री र नयाँ सोचका साथ प्रदेशमा जसपा अघि बढ्ने बताए ।

नेतृत्वमा बसेको मानिसमा क्षमता भयो भने मात्र उसले सबैतिर नियन्त्रण गर्न सक्छ भन्दै प्रदेश सरकारको नेतृत्वमा अब चाहिं सोच भएको मानिस आउने उनले बताए ।

प्रदेश सरकारको असन्तोषजनक काम कारवाहीले गर्दा पार्टीका सबै जनालाई चुनावमा परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रदेश सांसद महतोले राउतको नाममा सहमति हुने सम्भावना नभएको र प्रदेश सरकारमा नेतृत्व परिवर्तन हुने ठोकुवा गरे ।

Back to top