×

वीरगञ्ज २६ भदौं । पर्सामा पछिल्लो केहिदिन देखि घटिरहेको कोरोना संक्रमितको संख्या फेरी बढेको छ । बुधबार राति नारायणी अस्पतालले गरेको परिक्षणमा दुई जना मात्र सङ्क्रमित थपिएको पर्सामा बिहिबार रातिको परिक्षणमा फेरी ९ जना थपिएका छन् ।

नारायणी अस्पतालले उपलब्ध गराएको कोभिड सम्बन्धि पछिल्लो विवरण अनुसार ३ सय १५ जनाको थ्रोट स्वाबलाई आरटि पिसिआर प्रविधिबाट परिक्षण गर्दा ५ महिलासहित थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पुष्टि भएका २३ जना सङ्क्रमितमध्ये पर्सा जिल्लाको ९ जना रहेका छन् भने छिमेकि जिल्ला बाराका १४ जना छन् । उनीहरु १४ वर्षदेखि ६१ वर्ष उमेर समुहसम्मका छन् ।

अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसिया अनुसार पर्सामा थपिएका सङ्क्रमितमध्ये वीरगञ्जस्थित नारायणी अस्पतालको क्वाटरमा बस्ने दुई पुरुष पनि रहेका छन् । त्यसैगरी

अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर हस्पिटलका दुई जना महिलामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

पर्सामा थपिएका अन्य संक्रमितमध्ये तिन जना पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ का वासिन्दा रहेका छन् भने एक जना वडा नम्बर १ का बासिन्दा रहेका छन् । त्यस्तै सखुवापर्सौनी गाउँपालिका वडा नम्बर २ का एक व्यक्तिपनि कोरोना सङ्क्रमित भएका छन् ।

त्यसैगरी बारामा दुई जना प्रहरीसहित १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका प्रहरी इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत रहेको डाक्टर चौरसियाले जानकारी दिए । उनले निजगढका विभिन्न वडामा अन्य ६ जनामा पनि सङ्क्रमण देखिएको बताए ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको वाद नम्बर ७ मा तिन जना र वडा नम्बर ४, ६ र ८ मा एक/एक जना सङ्क्रमित थपिएको डाक्टर चौरसियाले जनाए ।

पर्सामा अहिले कुल सङ्क्रमितहरुको सङ्ख्या २ हजार ४ सय २९ भएपनि एक्टिभ केस जम्मा २ सय ३३ रहेको छ । हालसम्म सङ्क्रमणबाट जिल्लाका ४२ जनाले ज्यान गुमाईसकेका छन् ।

Back to top