×

वीरगञ्ज २४ भदौं । पछिल्लो समय पर्सामा कोरोना संक्रमितहरुको संख्या घट्न थालेको छ । साउनको सुरुवातबाट ठुलो संख्यामा संक्रमित थपिने क्रम भदौं सुरु भएदेखि कम हुनथालेको छ । विगत केहि दिनदेखि जिल्लामा लगभग एक अंकमा संक्रमितहरु थपिन थालेका हुन् ।

संक्रमितहरुको संख्या घटेसँगै जिल्लामा सञ्चालित अस्थायी कोभिड अस्पताल समेत बन्द हुनथालेका छन् । वीरगञ्जमा सञ्चालित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा संक्रमितहरुको संख्या सुन्य पुगेपछि अस्पताललाई पुन: नियमित सेवाहरु सुचारु गर्ने तयारी थालिएको छ ।

साउन १७ गतेदेखि सुरु गरिएको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर हस्पिटलबाट मंगलबार अन्तिम १५ जना संक्रमितहरु डिस्चार्ज भएपछि अस्पताललाई पुन: जनरल बनाउँन लागिएको सञ्चालकहरुले बताएका छन् । अस्पतालमा अहिले उपचार गराइरहेका कोरोना संक्रमितहरुको संख्या सुन्य पुगेको छ ।

वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा. अबुलहैस अन्सारीले आउँने दुई-तिनभित्र अस्पतालका सम्पूर्ण नियमित सेवाहरु पुन: सुरु गर्न लागिएको बताए । उनले अस्पतालमा संक्रमितहरुको संख्या सुन्य पुगेपछि विसङ्क्रमितको काम शुरू भएको जानकारी दिए । डा. अन्सारीले भदौं २८ गते र बढीमा आश्विन १ गतेदेखि सेमी आइसोलेशनसहितको जनरल अस्पताल सुचारु गरिने दावी गरे । उनले त्यसकालाई सम्पूर्ण तयारीहरु पूरा भइसकेको बताए ।

'विगत एक डेढ हफ्तादेखि अस्पतालमा भर्ना हुने संक्रमितहरुको संख्या एकदमै कम छ, हिजो अन्तिम १५ जना डिस्चार भएपछि हामीसँग एक जनापनि संक्रमित छैनन् । अब यतिकै अस्पताललाई खालि राख्नु भन्दा हामीले अस्पतालका नियमित सेवाहरु पुन: सुरु गर्ने थालेका हौँ,' उनले भने,' १ सय ५० शय्याको अस्पतालमा १०-१५ जनालाई उपचार गर्नुपनि उपयुक्त हुँदैन, त्यसैले अब सेमी आइसोलेशनसहितको जनरल सेवाहरु सुरु गर्दै छौं ।'

डा. अन्सारीले सेमी आइसोलेशनमा कोरोनाका शंकास्पद विरामीहरुलाई भर्ना गरिने बताए । उनले वीरगञ्जमा अहिले कोभिड अस्पताल भन्दापनि जनरल अस्पतालहरुको खाँचो महसुस भएको भने बताए ।

अस्पताल सञ्चालनको डेढ महिनाको अवधिमा केवल एक जना कर्मचारी कोरोना पोजेटिभ भएको उनले जानकारी दिए । 'एक जना बहिराका स्वीपर बाहेक अन्य कोहिपनि स्वास्थ्यकर्मी अथवा कर्मचारी संक्रमित भएन, हामीले सफलतापुर्वक एउटा उदाहरण सेट गरेका छौं ।'

उनले कोभिड अस्पताल सञ्चालनमा हुँदा लगभग ३ सय ५० जना कोरोना संक्रमितहरुको सफलता पुर्वक उपचार गरिएको जानकारी गराए । जसमध्ये एक सय भन्दा बढी संक्रमितलाई आईसीयूमा उपचार गरिएको उनले बताए । त्यसैगरी उनले ५० जना भन्दापनि बढीलाई रेम्देसिभिर औषधि प्रयोग गरेर उपचार गरिएको बताए ।

डा. अन्सारीले हेल्थ केयरलाई अब अन्तराष्ट्रिय मापदण्ड अनुसार सञ्चालन गरिने बताए ।

यता जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्ले भने अहिले नै बन्द गर्न नमिल्ने बताउनुभएको छ ।

यात्रा डेलीसँगको कुराकानीमा अँझै पनि केही संक्रमितहरु आइसोलेसनमा रहेको हुँदा तत्काल बन्द गर्न नमिल्ने बताउनुभएको छ । बन्द गर्नका लागी मन्त्रालयबाट कम्तिमा १ महिना अगाडी प्रशासनलाई जानकारी हुने हुँदा अहिले केही पनि जानकारी नभएको प्रजिअ तामांगको भनाई छ ।

Back to top