×

वीरगञ्ज २२ भदौं । साल्ट ट्रेडिङ कर्पोरेशनले मगाएको ३२ हजार मेट्रिकटन युरियामध्ये आधाभन्दा बढी परिमाण नेपाल भित्रिइसकेको छ । तर, यो वर्ष धान खेतीका लागि मल आपूर्ति सहज हुने सम्भावना भने टरेर गएको छ ।

मल संकट टार्न नेपालले बंगलादेशसित पैंचो मागेको युरियासमेत किसानले धानखेतीको यो सिजनमा नपाउने भएका छन् । बंगलादेशबाट मल ल्याउन प्रयोग गरिने ढुवानी रूट निक्र्योल गर्न र प्रक्रियाका लागि समय लाग्ने देखिएकाले धानका लागि उपलब्ध नहुने भएको हो ।

सरकारले बंगलादेशबाट मल भित्र्याउन सहज रूट सुझाउन कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जिम्मा दिएको छ । बंगलादेशबाट मल भित्र्याउन उपयुक्त रूट कुन हुन सक्छ भन्नेबारेमा बुझ्ने काम भइरहेको महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए ।

कृषि मन्त्रालयले बंगलादेशसित मागिएको मल ‘धानकै लागि आवश्यक हुन सक्ने र गहुँको लागि थप युरिया आवश्यक हुन सक्ने’ भनेर धानको सिजनमा ल्याउन नसक्ने संकेत गरिसकेको छ ।

सरकारले मल आयातको जिम्मा दिएका प्रतिष्ठानले बेलैमा मल ल्याउन नसक्दा किसानले मुख्य बालीका लागि मल नपाएका हुन् । साल्ट ट्रेडिङले आयात गरेको गत आर्थिक वर्ष २०७६/७७ को २१ हजार ५ सय र चालू आर्थिक वर्ष २०७७/७८ को १० हजार ५ सय मेट्रिकटनमध्ये १९ हजार ६ सय मेट्रिकटन मल भित्रिइसकेको छ ।

कोलकाता बन्दरगाहबाट वीरगञ्जका लागि २ हजार ६ सय मेट्रिकटनका दरले ६ र्‍याक मल गइसकेको त्यहाँस्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख लक्ष्मण खड्काले जानकारी दिए । ‘पूर्वी नाका विराटनगरका लागि पनि सडकमार्ग हुँदै ४ हजार मेट्रिकटन मल पठाइएको छ,’ प्रमुख खड्काले भने ।

कोलकाताबाट हिँडेका ६ मध्ये ५ र्‍याक मल वीरगञ्ज हुँदै भित्रिइसकेको र १ र्‍याक बाटोमै रहेको साल्ट ट्रेडिङका वीरगञ्ज कार्यालय प्रमुख अमोज लामिछानेले जानकारी दिए । वीरगञ्ज भित्रिइसकेको युरिया १९ जिल्लामा पठाएर वितरण भइरहेको लामिछानेले बताए ।

पूर्वी नाकाबाट आएको मल साल्ट ट्रेडिङको विराटनगर कार्यालयले आसपासका क्षेत्रमा वितरण गरिरहेको छ । साल्ट ट्रेडिङले आयात गरेको सबै मल आइसक्दा पनि आपूर्ति सहज नहुने देखिएको छ ।

मल ल्याउने जिम्मा पाएका कम्पनीले बेलैमा आयात नगर्दा मुख्य बालीको सिजनमा किसानले सास्ती खोप्नु परेको छ । रोपाइँको बेला असारमा मलको हाहाकार भएको थियो । रोपाइँको डेढ महीनापछि धान गोड्ने बेलामा पनि किसानले मल पाएका छैनन् ।

सरकारले कुल आयातमध्ये साल्ट ट्रेडिङलाई ३० र कृषि सामग्री कम्पनीलाई ७० प्रतिशत भिœयाउने जिम्मा दिएको थियो । ठूलो परिमाण भित्र्याउने जिम्मा लिएको कृषि सामग्रीका ठेकेदारले मल नल्याएपछि आपूर्ति थप असहज भएको हो ।

सरकारले शर्तअनुसारको समयसीमाभित्र मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँगको ठेक्का सम्झौता रद्द गरेर ती कम्पनीको बैंक धरौटी जफत गरिसकेको छ । कृषि सामग्रीसित ती कम्पनीले २५/२५ हजार मेट्रिकटन युरिया ल्याउने सम्झौता गरेका थिए । किसानलाई मल उपलब्ध गराउन नसकेकोप्रति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आत्मालोचना गरिसकेको छ ।

आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

Back to top