×

वीरगञ्ज २२ भदौं । बन्दाबन्दी र निषेधाज्ञाले उत्पादन खुम्चिएपछि बारा पर्सा कोरिडोरका उद्योगले धमाधम कामदार कटौती गर्न थालेका छन् । ४ महीना लामो बन्दाबन्दी र करीब डेढ महीनादेखि जारी निषेधाज्ञाले उत्पादन प्रभावित भएको भन्दै उद्यमीले कामदार कर्मचारी हटाउन थालेका हुन् ।

श्रम तथा रोजगार कार्यालय पर्साका अनुसार कोरिडोरका आधा दर्जन उद्योगले मजदूर कटौती र जगेडामा राखिएको जानकारी पठाएका छन् । आइतवारमात्रै वीरगञ्जको एउटा उद्योगले आफ्ना सम्पूर्ण कामदार हटाएको छ । अधिकांश उद्योगले कामदार कटौती गरेको श्रम तथा रोजगार कार्यालय प्रमुख सुन्दर श्रेष्ठले बताए ।

सीमित उद्योगले कामदार हटाएको जानकारी श्रम कार्यालयमा दिए पनि कोरिडोरका अधिकांश उद्योगले अनौपचारिक रूपमा कामदार कटौती गरेको पाइएको छ । त्यस्ता उद्योगले आपसी समझदारीमा कामबाट हटाइएको बताएका छन् । समझदारीमा कटौती गरेका उद्योगले श्रम कार्यालयमा जानकारी दिएका छैनन् ।

कामदार कटौती वा जगेडामा राखिएको जानकारी श्रम कार्यालयलाई दिनुपर्ने व्यवस्था श्रम ऐनले गरेको छ । जगेडामा राखिएका कामदारलाई आधा तलब दिनुपर्छ । कटौती गरेको खण्डमा भने काम गरेको अवधिको १ वर्ष बराबर १ महीनाका दरले क्षतिपूर्ति दिएर हटाउने कानूनी प्रावधान छ । कामदारलाई एक महीनाअगावै यसको सूचना दिनुपर्छ ।

कोरिडोरका १ हजार उद्योगमा १ लाखभन्दा बढी कामदार कार्यरत रहेको अनुमान छ । कोरोना महामारीले निम्त्याएको असहजताले तीमध्ये अहिले ३५ देखि ४० प्रतिशतले रोजगारी गुमाएको उद्योगीहरू बताउँछन् ।

कोरोना नियन्त्रणका लागि अपनाइएको निषेधाज्ञाका कारण आवागमन, कच्चा पदार्थको आपूर्ति र ढुवानी अवरुद्ध भएको वीरगञ्ज उद्योग वाणिज्य संघ रोजगारदाता समितिका अध्यक्ष सुनील खेतानले बताए । अधिकांश उद्योगको उत्पादन अहिले क्षमताको २० देखि २५ प्रतिशतमा खुम्चिएको खेतानको दाबी छ । ‘उद्योगको उत्पानमात्र घटेको छैन, उत्पादन भएको सामान बेच्न बजारसम्म पहुँचमा पनि समस्या छ,’ उनले भने, ‘बजारमा मागसमेत घटेकाले उत्पादन चुनौतीपूर्ण बनेको छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार केही उद्योगले त १० देखि १५ प्रतिशत कामदार राखेर चलाएका छन् । ‘काम नभएपछि कामदार आफै उद्योगमा आउन अनिच्छुक हुन्छन् । यस्तै अवस्था रहेमा कोरिडोरका अधिकांश कामदार रोजगारविहीन हुने जोखिम बढेर गएको छ,’ उपाध्यक्ष गुप्ता बताउँछन् ।

कोरिडोरका औसत उद्योगले ६० देखि ६५ प्रतिशत कामदार राखेर उत्पादनलाई निरन्तरता दिएका छन् । ४ महीना लामो बन्दाबन्दीमा जसोतसो उद्योग चलाएका उद्योगका लागि डेढ महीनायताको निषेधाज्ञाले थप मार परेको छ । बन्दाबन्दी फिर्ता भएपछि क्षमताको ७०/८० प्रतिशतसम्म पुगेको उत्पादन अहिले स्वात्तै घटेको गुप्ता बताउँछन् । बारा र पर्सा जिल्लासहित कोरिडोरका उद्योगमा कोरोना संक्रमण बढ्न थालेपछि प्रशासनले निषेधाज्ञा लगाएर कडाइ गरेको छ । प्रशासनले उद्योगमै कामदार राखेर उत्पादन गर्न भनेपछि अत्यावश्यकीय खाद्यान्न र औषधि उद्योगसमेत प्रभावित भएका छन् । कोरोना महामारीको बहानामा उद्योग व्यवस्थापनले कामदारमाथि अन्याय गरेको आरोप मजदूर संगठनको छ । निषेधाज्ञामा मजदूरले आन्दोलन गर्न नसक्ने भएपछि उद्योगीले कानूनको दुरुपयोग गरेर कामदार हटाएको संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश २ का अध्यक्ष कमलेश झाले लगाए । कोरोनाको बहानामा बारा पर्साका केही उद्योगले नेपालीलाई हटाएर गैरनेपाली कामदार भित्र्याएको आरोप नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) का उपमहासचिव दिनेश राईले लगाए । ‘५० प्रतिशतका दरले दिने भनिएको वैशाखदेखि असारसम्मको तलबसमेत दिएका छैनन् । ७० प्रतिशत उद्योगले यो सहमति अभैm पालना गरेनन् । अहिले कामदार कर्मचारीलाई अन्यायपूर्ण तरीकाले कामविहीन बनाइएको छ,’ राईले भने ।

आर्थिक अभियान दैनिकबाट साभार ।

Back to top