×

वीरगञ्ज १८ भदौं । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलगायातका मन्त्रीहरुले सामाजिक दूरीको मापदण्ड विपरित गएर भिडभाड हुने कार्यक्रम गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतसहित कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव, कृषि सहकारीमन्त्री योगेन्द्र राय यादव र मुख्यन्यायाधीवक्ता दीपेन्द्र झालगायतले रौतहटमा भौतिक दूरी कायम नगरी सयौंको भिड जम्मा गरेर कार्यक्रम गरेका हुन् । मुख्यमन्त्री र मन्त्रीहरु सहभागी भएको कार्यक्रममा सयौंको संख्यामा मान्छेको भिड देख्न सकिन्छ ।

कोरोनाभाइरस महामारीबाट प्रदेश विकराल बनेको बेला धेरै सङ्क्रमित भएको रौतहट जिल्लामानै प्रदेशका मुख्यमन्त्री र मन्त्री जस्ता व्यक्तिहरुले भौतिक दूरी कायम नगरी कार्यक्रम गरेपछि उनीहरुको चर्को आलोचना भएको छ ।

सरकार र विश्व स्वास्थ्य संगठनको निर्देसनको धज्जी उडाउँदै मुख्यमन्त्रीलगायात मन्त्री र प्रदेशका मुख्यन्यायाधीवक्तासमेतले यसरी भिडभाड गर्दा कोरोना सङ्क्रमण फैलन जोखिम बढ्ने चिकित्सकहरुको भनाइ छ ।

मुख्यमन्त्री राउत आफ्नो दलबलसहित गरुडा नगरपालिकाको जिङ्गडियामा हत्या भएको विजयरामको परिवारसँग भेट्न रौतहट पुगेका थिए । भेटघाट गर्ने क्रममा उनले भौतिक दूरीलगयात सुरक्षाको कुनै मापदण्ड उपयुक्त रुपमा पालना नगरेको पाइएको छ ।

त्यसैगरी मुख्यमन्त्री राउत अर्को कार्यक्रममा पनि भौतिक दूरी कायम नगरी सहभागी भएका छन् । उनि रौतहटकै माधव नारायण नगरपालिकामा हत्या भएको पुजारी राम साहको हत्या स्थल पुगेका थिए । त्यहाँपनि उनि सहभागी भएको कार्यक्रममा सयौंको सङ्ख्यामा मानिस भौतिक दूरी कायम नगरी मास्क बिना नै उपस्थित थिए ।

Back to top