×

वीरगञ्ज १७ भदौं । रौतहटमा पुजारीको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गएको साउन ३ गते माधव नारायण नगरपालिका–३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम शाहको हत्या आरोपमा प्रदेश २ प्रहरीले दुईजनालाई बुधबार सार्वजनिक गरको हो ।

रौतहटको देवाही गोनाही नगरपालिका १ का ३६ वर्षका रामनरेश पटेल र सोही ठाउँका २८ वर्षका बालकुमार पटेललाई हत्यामा संलगन रहेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका हो ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले बौधिमाई नगरपालिका ७ वडकी बंकुल एरियाबाट बुधबार बिहान १० बजे दुबैजनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशुकुमार सिंहले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट रामनरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटना स्थित नजिक रहि मानिसको आवत जावतलाई निग्रानी गरेको खुलेको प्रहरी नायव उपरीक्षक सिंहले बताए । दुबैजनाले अपराध समेत स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

अनुसन्धानबाट रामनरेशका बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको खुलेको छ । मृतक पुजारीको मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको धारामा आई खुट्टा धुने, पानी खाने र घटना हुनु भन्दा ३ दिन अघि रामनरेश पटेल र पुजारीबिच बिवाद भएको पनि खुलेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

प्रहरीका अनुसार गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा मृतक पुजारीले फरक मत राख्ने क्रममा पुजारी र रामनरेश पटेल लगायत अन्य सँग धेरै पल्ट वादविवाद भएको समेत रहस्य खुलेको छ ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत गौरबाट १० दिन म्याद थप गरी अनुसन्धान गरिरहेको र अन्य आरोपीहरुको खोजविन जारी रहेको प्रवक्ता सिंहले बताएका छन् ।

Back to top