×

वीरगञ्ज १६ भदौं । कोरोनाभाइरस सङ्क्रमणको हट्स्पट बनेको वीरगञ्जमा पछिल्लो १२ घण्टाभित्र ३ जनाले ज्यान गुमाएका छन् । वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भइ उपचार गराईरहेका तिन पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक जना पर्सा, एक जना बारा र एक जना नाम, ठेगना खुल्न नसकेका वेवारिसे छन् । तिनै पुरुषको हिजो राती पौने ९ बजेदेखि बिहान ५ बजेसम्ममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा कोरोना सङ्क्रमित भइ उपचार गराईरहेका पुरुषको १७ दिनपछि मृत्यु भएको हो । श्रावन ३१ गते कोरोना सङ्क्रमित भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका ५३ वर्षीय पुरुष दिर्घ रोगि थिए ।

उनमा मधुमेह, गम्भीर किसिमको मृगौला सम्बन्धित रोगका साथै श्वासप्रस्वासको सामस्यापनि थियो । अस्पताल भर्ना भएका दिनदेखि नै आइसीयुमा राखेर उपचार भइरहेको पुरुषको गएराती १२:४५ मा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

त्यसैगरी बाराको कोल्भी गाउँपालिकाका ६० वर्षीय पुरुषको पनि सङ्क्रमणका कारण मृत्यु भएको हो । अस्थायी अस्पताल गण्डक हस्पिटलमा भदौं १० गते भर्ना भएका पुरुषको मंगलबार (आज) बिहान ४:०५ बजे मृत्यु भएको डाक्टर चौरसियाले बताए ।

श्वासप्रश्वासमा अत्याधिक समस्या आएका कारण आइसीयु भित्र अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेका पुरुष उच्च रक्तचाँपसहित मधुमेयका रोगि थिए ।

त्यस्तै नाम, ठेगना नखुलेको एक जना बेवारिसे पुरुषको पनि सङ्क्रमणका कारण मृत्यु भएको छ । भदौं १३ गते सडकमा वेवारिसे अवस्थामा लडिरहेका पुरुषलाई स्थानीय समाज सेवीहरुको पहलमा अस्पतालमा भर्ना गराइएको थियो । उनमा मृत्यु पछि कोरोना पुष्टि भएको हो ।

अन्दाजी ६० वर्षीय पुरुषको आज बिहान ८:४५ मा मृत्यु भएको डाक्टर चौरसियाले जानकारी दिए । मृत्युपछि उनको स्वाब सङ्कलन गरेर जिन एक्स्पर्ट प्रविधिबाट स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । अस्पताल भर्ना गर्दा उनि कुपोषणका कारण केहि बोल्ने अवस्थामा समेत नरहेका डाक्टर चौरसियाले बताए ।

योसँगै वीरगञ्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । जनामध्ये २ बेवारिसे व्यक्तिसहित पर्साका ३८ जना, बाराका ११ जना र रौतहटका ३ जना रहेका छन् ।

Back to top