×

वीरगञ्ज १५ भदौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले जनस्तरमा उठेका हरेक मागलाई सम्बोधन गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।

नागरिक सरोकार समाज पर्सा र मुख्यमन्त्री लालबाबु राउत गद्दीबीच सोमबार सम्पन्न भर्चुवल बैठकमा कोभिड नियन्त्रण तथा रोकथामका लागि नागरिक स्तरबाट आउँने जुनसुकै मागलाई आफुले पूरा गर्ने प्रतिबद्दता व्यक्त गरेका हुन् ।

नागरिक सरोकार समाजका अगुवाहरुले कोभिड नियन्त्रणका लागि उठाएको विभिन्न विषयहरुमा बोल्दै मुख्यमन्त्री राउतले सङ्घ सरकार र ब्युरोक्रेटिक स्तरबाट आफुले सहयोग नपाएको बताउँदै अपेक्षित काम गर्न नसकेको बताए । उनले आफुले पर्सालगायतका जिल्लाहरुमा पटक-पटक पैसा र अन्य सहयोग पठाउँदैपनि सदुपयोग नभएको गुनासो गरे । 'हामीले गर्न धेरै खोजेका छौं, तर सङ्घ सरकार र ब्युरोक्रेटिक स्तरबाट कर्मचारीहरुको असहयोगका कारण कुनै काम समयमा हुन् सकेको छैन, तर हामीले प्रयास छाडेका छैनौँ,अडिक भएर काम गरिरहेका छौं ।'

समाजको तर्फबाट वरिष्ठ सञ्चारकर्मी महेश दासले पर्सामा कन्ट्याक्ट ट्रेसिङ, थप आइसोलेशनको व्यवस्थापन, पोखरिया अस्पतालमा पिसिआर मेसिन जडान, रक्तसञ्चार केन्द्रमा प्ल्जामा सेपेरेटर मेसिन जडान, वीरगञ्जमा अक्सिजन प्लान्टको स्थापना, सङ्क्रमितहरुलाई काठमाडौँलगयात अन्य शहर पुर्याउन सहयोग मिल्ने आइसीयु एम्बुलेन्सको व्यवस्थापन, नारायणी अस्पतालमा सुधार र जनशक्तिओक व्यवस्थापन, होम आइसोलेशनमा रहेका सङ्क्रमितहरुको उचित व्यवस्थापन तथा निगरानी, मास टेस्टीङ,राहत वितरण, आयुर्वेधिक अस्पताल सञ्चालनलगायातको विषयहरुमा मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी नारायणी अस्पतालका मेडिकल सुपारीटेनडेन्ट डा. सञ्जयकुमार ठाकुरले कोभिड सङ्क्रमणले भविष्यमा ल्याउँन सक्ने चुत्नौती र त्यसबाट जोगिन हामीले तत्कालै उठाउँनु पर्ने कदमहरुका बारेमा जानकारी गराएका थिए । उनले भारतको केरेला राज्यले अपनाएको क्विक टेस्टीङको रणनीतिका साथ अगाडी बढ्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै पर्साका प्रमुख जिल्ला अधिकारि आस्मान तामाङले जिल्लाको कोभिड अवस्थाका बारेमा जानकारी गराउँदै पर्सामा कोरोना सङ्क्रमण फैलन चेनलाई आफुहरु तोड्न सफल भएको दावी गरे । उनले अबको दिनमा स्वास्थ्य मापदण्डलाई लागु गराउन जिल्ला प्रशासन कार्यालय पर्साले 'नो मास्क, नु मुभमेन्ट' को रणनिती लिएर अगाडी बढिरहेको जानकारी गराए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले निषेधाज्ञाका कारण वीरगञ्ज-पथलैया करिडोरका औद्योगिक क्षेत्र सबैभन्दा धेरै मारमा परेको जानकारी गराउँदै यस क्षेत्रलाई ग्रिन जोन बनाउँन तर्फ अब सबैको ध्यान जान आवश्यक भएको बताए । उनले उद्योगहरु बन्द हुँदा सृजना हुने बेरोजगारी जस्ता समस्याले कोभिड भन्दापनि ठुलो चुनौतीहरु थपिने चिन्ता व्यक्त गरे ।

सङ्घका पुर्व अध्यक्ष अशोक टेमानीले नारायणी अस्पतालको व्यवस्थापनमा देखिएको कमजोरीहरुलाई औल्याउँदै जनरललगायतका सम्पूर्ण सेवाहरु छिटोभन्दा छिटो सुरु गर्न सल्लहा दिए । उनले मालवाहक गाडीहरु आउँने नाकाहरुमा क्विक टेस्टीङको व्यवस्थापन गरे सङ्क्रमणलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने बताए ।

त्यस्तै अन्य वक्ताहरुले नन कभिड विरामीहरुलाई सहजै भारतमा थप उपचार गराउन जान मिल्ने व्यवस्थापन, पोखरिय अस्पतालमा पिसिआर मेसिन जडान, ग्रामिण क्षेत्रमा रहेका कोभिड पोजेटिभहरुको निगरानी र व्यस्थापन, टेली मेडिसिनको व्यवस्थापनलगायातका विषयहरु उठाएका थिए ।

सामाजिक अभियन्ता ओमप्रकाश सर्राफको संयोजकत्वमा सम्पन्न छलफलमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, जसपा पर्साका नेता रामनरेश यादव, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपाल, पुर्व अध्यक्ष एवम् लेखक गणेश लाठ, नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान, सामाजिक अभियन्ता बृजेश्वर चौधरी, प्रकाश थारु, संस्कृतीका सह-संस्थापन एवम् उपाध्यक्ष आशुकुमार सर्राफलगायतको सहभागीता रहेको थियो ।

Back to top