×

काठमाडौं १० भदौं । नेपालमा कोरोना भाइरसको महामारी अझै उत्कर्षमा पुगेको छैन । तर, निकट भविष्यमा भयावह अवस्था आउने तथ्यांकले देखाएको छ । आज विश्व स्वास्थ्य संगठनको नेपालस्थित प्रतिनिधि डाक्टर जोस भ्यानडिलिएरले पनि निकट भविष्यमा परिस्थिति अझै नराम्रो हुनसक्ने औल्याएका छन् ।

मानिसहरुले बुझ्न जरुरी छ कि यो शुरुवात मात्रै हो र परिस्थिति अझै नराम्रो हुने देखिन्छ । उनले मृतकको संख्या बढिरहेको भन्दै बढी उमेरका मानिस बढी जोखिममा रहेको बताए । उनले अवस्था भयावह हुनसक्ने भन्दै सचेत र शतर्क रहन आग्रह गरे ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट दैनिक मानिसको मृत्यु हुने संख्या थपिदै जाँदा डब्लुएचओका नेपाल प्रतिनिधि भ्यानडिलियरको भनाई सार्वजनिक भएको हो । कोभिड १९ भएकाको संख्या भदौ महिनाभर दैनिक पाँचसयभन्दा बढी रेकर्ड छ । लगातार मृतक संख्या बढ्दै जाँदा महामारीको संकट भयावहतर्फ उन्मुख भएको छ ।

भदौको नौं दिनमै ६० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । एकै दिन किर्तिमानी ११ जनाको मृत्यु पनि यसै महिना भएको छ । २० साउनबाट दैनिक कोरोना संक्रमणबाट मृत्यु संख्या थपिने क्रम रोकिएको छैन ।

२ जेठमा कोरोना भाइरसबाट पहिलो मृत्यु पुष्टि भई फाट्टफुट्ट मृत्युका घटना हुने गरेकोमा पछिल्लो समय लगातार मानिसको मृत्यु हुने क्रम बढेको छ । जेठ देखि साउनभित्र एक सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । तर, भदौको १ देखि ७ गतेभित्र ४५ जनाको मृत्यु भइसकेको छ । जेठमा भन्दा असारमा, असारमा भन्दा साउनमा बढी मानिसको मृत्यु भएको तथ्यांक छ । दैनिक मृत्युदर बढिरहँदा भदौ महिनामा विगत तीन महिनाको भन्दा बढी मृत्यु रेकर्ड हुने प्रक्षेपण गरिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक सय ६४ पुगेको छ । मृत्यु हुनेमा पुरुषको संख्या अधिक छ । तर, महिलाको संख्या पनि वृद्धि भइरहेको छ । पछिल्लो समय ६० कटेकाहरु मृत्यु हुने क्रम बढेको छ । वृद्धवृद्धा बढी जोखिममा परेको देखिएको छ ।

Back to top