×

वीरगञ्ज ९ भदौं । पर्सामा कोरोनाभाइरस संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा हस्पिटल वीरगञ्जमा उपचार गराइरहेका पुरुषको आइतबार संक्रमणका कारण मृत्यु भएको हो ।

पर्साको जिल्ला भवानी गाउँपालिका वडा नम्बर ४ बस्ने ६८ वर्षीय पुरुषको मृत्यु पश्चात करोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मुटुका दिर्घ रोगि उक्त पुरुषलाई निमोनिया हुनका साथ् श्वासप्रश्वासमा समेत समस्या हुनथालेपछि कोरोनाको शंका लागेर आइतबारनै राती साढे ९ बजेको करिब गण्डकमा भर्ना गरिएको थियो ।

भर्ना गर्दा पुरुषको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनको उपचार सुरु गर्न नपाउँदै मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताए । मृत्यु पश्चात उनको स्वाबको नमुना संकलन गरेर पिसिआर प्रविधि मार्फत कोरोना परिक्षण गर्दा पोजिटिभ देखिएको प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

मृतक वृद्धको कुनै ट्राभल हिस्ट्री समेत नरहेको प्रशासनले जनाएको छ । योसँगै पर्सा जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेर ३१ पुगेको छ भने संक्रमित हुनेहरुको संख्या २ हजार पुग्न लागेको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै गत श्रावन १० गतेदेखि स्थानीय प्रशासनले वीरगञ्जमा र श्रावन २० गतेदेखि जिल्लाका अन्य पालिकाहरुगरी सम्पूर्ण जिल्लामा निषेधाज्ञा लगाएको छ ।

Back to top