×

वीरगञ्ज ८ भदौं । पर्सा जिल्लामा लागेको निषेधाज्ञाका कारण हात मुख जोड्न समस्यामा परेकाहरुलाई नेपाल विद्यार्थी संघ पर्साले खाना वितरण गरेका छन् ।

वीरगञ्जमा लगभग एक महिनादेखि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ । कोरोनाभाइरस सङ्क्रमण समुदाय स्तरमा फैलिएको भन्दै संकट व्यवस्थापन केन्द्र पर्साले श्रावन १० गतेदेखि जिल्लाको सदरमुकाम वीरगञ्जमा निषेधाज्ञा लगाएका कारण सम्पूर्ण क्षेत्र ठप्प हुँदा दैनिक ज्यालादारी मजदुर र गरिब, विपन्न वर्ग समस्यामा परेका छन् ।

दैनिक काम गरेर आफ्नो घर परिवार चलाइरहेका यस्ता व्यक्तिहरुलाई सहयोग गर्न नेपाल विद्यार्थी संघका युवाहरु अगाडी बढेका छन् । संघका पुर्व जिल्ला अध्यक्ष राकेश यादवसँग प्रेरणा लिएर नेविसंघमा आबद्ध विद्यार्थीहरुले विगत ४ दिनदेखि सडकमा घुमेर भोका बस्ने गरिब, असहाय तथा विपन्न परिवारको लागि तयारी खानाको प्याकेट वितरण गर्ने अभियान थालेको हुन् ।

विगत चार दिनदेखि हालसम्म वीरगञ्जको विभिन्न वडाका करिब ६ सय जनालाई विहान र बेलुका गरी खानाको प्याकेट वितरण गर्ने काम भइरहेको नेविसंघका ठाकुरराम क्याम्पस इकाइ अध्यक्ष नेता मनोज साहले बताए । उनले नेपाल विद्यार्थी संघ पर्साको संयोजनमा अभियान जारी रहने बताए।

वीरगञ्जको ठाकुरराम क्याम्पस क्षेत्र, बसपार्क, पानीटंकी, लाठ गल्ली, पानगली, घण्टाघर, रानीघाटको क्षेत्रमा खानाको आवश्यकता बोध भएका घरपरिवार तथा असहायलाई खानाको प्याकेट वितरण गर्ने कार्य भइरहेको साहले जानकारी दिए।

नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष विकास तिवारीलगायतका विद्यार्थी नेता अभियानमा संलग्न छन् ।

Back to top