वीरगञ्ज भन्सारले भेटाएन राजस्व असुली लक्ष्य

128

वीरगञ्ज ८ भदौं । वीरगञ्ज भन्सार कार्यालय चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व असुली लक्ष्य भेट्टाउन असफल भएको छ । श्रावन महिनामा ११ अर्ब ४२ करोड ७४ लाख २० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको यो भन्सारले जम्मा ७ अर्ब ८१ करोड ७४ लाख २० हजार रुपैयाँ राजस्व असुली गरेको छ । यसरी राजस्व असुली लक्ष्यको ६८ दशमलब ३५ प्रतिशत मात्र संकलन हुन सकेको छ ।

लक्ष्य अनुरुप राजस्व असुली हुन नसक्नुको मुख्य कारण वीरगञ्जमा जारी निषेधाज्ञा रहेको कार्यालयका सूचना अधिकृत विमलकुमार साहले बताए ।

चालु आवका लागि यो भन्सारले १ खर्ब ७२ अर्ब ७९ करोड ८१ लाख ७५ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको छ । गत आवमा लक्ष्य १ खर्ब ८८ अर्ब ९४ करोड रुपैयाँ थियो ।



यस वर्ष राजस्व असुलीको लक्ष्य घट्नुमा राष्ट्रिय बजेटको रुप नै सानो हुन गएकाले भन्सार विभागले नै यो कार्यालयलाई बजेटको लक्ष्य कम दिएको साह बताउँछन् ।

कोभिड महामारीको समयमा दैनिक उपभोग्य वस्तु र खाद्यान्नको मात्र बढी आयात हुने गरेको छ । राजस्वमा योगदान गर्ने सवारी साधन र इन्धन जस्ता प्रमुख वस्तुहरूको आयात घट्दो क्रममा रहेकाले पनि राजस्व असुलीमा नकारात्मक असर परेको हो ।

यीबाहेक यो नाकाबाट औद्योगिक कच्चा पदार्थ, दैनिक उपभोग्य वस्तु, विद्युतीय उपकरण आदि वस्तु आयात हुने गर्छ । राजस्व संकलन तथा आयात निर्यातका दृष्टिले यो भन्सारले मुलुककै प्रमुख स्थल नाका भन्सार पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here