×

वीरगञ्ज १ भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालको मेडिकल सुपरीटेन्डेन परिवर्तन गरेको छ । मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै नारायणी अस्पतालको मेसुको जिम्मेवारी डा सञ्जय ठाकुरलाई दिएको छ ।

उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । अहिलेसम्म नारायणीका मेसु रहेका डा मदनकुमार उपाध्यायलाई मन्त्रालय फिर्ता बोलाइएको छ ।

पछिल्लो समय वीरगञ्जमा कोरोनाको हटस्पट बन्दै गएको छ । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेपछि सेवा सञ्चालन गर्न समेत गाह्रो भएको छ ।

केही दिन अघि स्थानीय बताउने अराजक तत्वले अस्पतालमा पसी तोडफोड गर्नुका साथै डाक्टर माथि समेत आक्रमणको प्रयास गरेका थिए । मेसु डा उपाध्यायलाई कालोमोसो लगाउने प्रयास समेत गरेका थिए ।

मन्त्रालयका सहसचिव रघुराम बिष्टले वीरगञ्जको पछिल्लो अवस्था र विद्यमान परिस्थितिलाई हेरेर उपयुक्त निर्णय लिइएको बताए । उनले डा उपध्यायलाई अहिले मन्त्रालयमा काजमा ल्याइएको प्रतिक्रिया दिए ।

 

Back to top