×

वीरगञ्ज – पर्सा जिल्ला कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको कुरा घाम जस्तो छर्लङ्ग छ । अहिलेको व्यवस्थापनको अवस्था हेर्ने हो भने आउने दिनहरुमा अझ भयावह अवस्था निम्तिने देखिन्छ ।

त्यसकारण आम समूदायमा बिनम्र छ कि कोभिड १९ को व्यक्तिगत रुपमा आफै सावधानी अपनाऔँ । सकेसम्म घरबाहिर ननिस्कौँ । निस्कनै परे अनिवार्य मास्क लगाएर मात्रै बाहिर निस्कौँ । सामाजिक दूरी सँधै कायम गरौँ । साबुन पानीले मिचिमिचि हात धाेऔँ ।

यस्तै सरोकारवालाहरुसँग आग्रह के छ भन्दा जुन बेला तपाईहरुले आ–आफ्नो घोषणा पत्र लिएर चुनावमा जानुभएको थियो । त्यसबेला कोभिड १९ को महामारी आउला भनेर सोचिएको नै थिएन ।

त्यसकारण तपाईले आफ्नो घोषणा पत्रमा यो कुरा उल्लेख गर्नुभएन । तर आज सबै पालिकाहरुले आफ्नो सभा या परिषद गरिरहेका छन् ।

यस्तो बेलामा अब कोभिड १९ लाई संक्रमण नियन्त्रणका लागि विशेष सभा मार्फत होस् वा जुनसुकै तरिकाले भए पनि आवश्यक बजेट छुट्याएर प्रत्येक घर एक व्यक्ति एक पीसीआर परीक्षणको व्यवस्था मिलाऔँ । प्रत्येक पालिकामा १ सय बेडको आईसोलेशनसहितको अस्पताल बनाऔँ ।

यसका लागि तिनै तहको सरकारसँग पर्याप्त बजेट र अधिकार छ । तिनै तहसँग दरो ईच्छा शक्ति र व्यवस्थापकीय क्षमताको कमिले मात्रै अवस्था भयावह देखिएको हो ।

होइन भने तीनै तहको सरकारबीचको समन्वय हुने हो भने हामी जस्तो सुकै महामारीलाई पनि पछार्न सक्ने ल्याकत राख्छौँ ।

अहिले हामीसँग समय घर्की रहेको छ । चाँडो भन्दा चाँडो आवश्यक सबै काम गर्नु पर्ने छ ।

क्वारेन्टिन, आइसोलेसनदेखि जटिल अवस्था आए उपचारका लागि आवश्यक पर्ने आईसीयू, भेण्टिलेटर लगायत सबै सुविधायुक्त अस्पताल निर्माण गरौँ ।

अझै पनि ढिलाई गर्ने हो भने अवस्था जटिल बन्छ र यो महामारी नियन्त्रण गर्ने नसक्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले हामी सबैले आ–आफ्नो स्थानबाट यो महामारी नियन्त्रणको सन्दर्भमा गर्नु पर्ने काम यथाशक्य गर्न पहल गरौँ ।

स्थानीय सरकारले प्रदेश सरकारलाई र प्रदेश सरकारले संघीय सरकारलाई देखाउँदै पन्छिने काममा नलागि एक अर्कासँगको समन्वयमा अघि बढौँ । अहिले टिकाटिप्पणी गर्ने समय होइन । काम गरेर देखाउने समय हो ।

मानवीय सेवा नै राजनीतिको मुख्य लक्ष्य हो । त्यसैले अहिले यो महामारीबाट कसरी बँच्न अनि कसरी बचाउने त्यतै तर्फ हामी सबैको ध्यान केन्द्रित गरौँ ।

Back to top