×

जनकपुरधाम ३० श्रावन । प्रदेश नं. २ का मुख्यमन्त्रीले कोरोना महामारीको बेला प्रदेश सरकारले टन्नै काम गरेको दावी गरिरहेको बेला स्रोत र जनशक्ति अभावमा यहाँ दिनहुँ मान्छेले ज्यान गुमाउनु परेको छ ।

प्रदेशका जनता कोरोना महामारीले त्राहिमाम त्राहिमाम गरिरहेको बेला मुख्यमन्त्री राउत भने आफै काठमाडौँमा सुरक्षित छन् । उनले त्यहींबाट विभिन्न पहलहरु गरिरहेको दावी गरिरहेपनि यर्थात भने फरक छ ।

प्रदेशका विभिन्न अस्पतालहरू अहिले स्रोत, साधन र जनशक्तिको अभावमा रहेका छन् । प्रदेशमा सञ्चालित दुई ठूला अस्पतालले पटक - पटक प्रदेश सरकारसँग आभाव भएका स्रोत र जनशक्ति माग गरेपनि मुख्यमन्त्री राउतले त्यस्को वास्त गरेका छैनन् ।

वीरगञ्जस्थित नारायणी अस्पताल र जनकपुरस्थित प्रादेशिक अस्पातल जनकपुरमा कोरोना महामारिसँग लड्ने आवश्यक स्रोत, साधन र जनशक्ति नरहेको यहाँ कार्यरत मेडिकल सुपरिटेन्डेन्ट हरुले गुनासो गर्ने गरेका छन् भने कयौँ चिकित्सक र स्वास्थ्यकर्मी आफै संक्रमित हुँदा जनशक्तिको कमी भएको छ । तर प्रदेश सरकार भने हेलिकप्टरको कुरा गर्न व्यस्त छ ।

आज मात्रै प्रादेशिक अस्पताल जनकपुरबाट आइसियु अभावमा रेफर गरिएका एक बिरामीको बाटोमै मृत्यु भएको छ ।

काठमाडौं रेफर गरिएका धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको बाटोमै मृत्यु भएको हो ।

मृत्यु पश्चात उक्त वृद्ध्मा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्याभएपछि बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएपनि सिकिस्त भएकाले उनलाई आइसियुमा भर्ना गरेर उपचार गर्नुपर्ने थियो ।

प्रादेशिक अस्पतालमा आइसियु सञ्चालन गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी होम क्वारेन्टाइन र आइसोलेसन रहेका कारण आइसियु सेवा बन्द भएको छ ।

आइसियुमा राखेर उपचार गर्न काठमाडौं रेफर गर्दा ती पुरुषको मृत्यु भएको हो । मृत्यु पश्चात मृतकको स्वाब संकलन गरी परिक्षण गर्दा शुक्रबार मृतकको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए ।

यस्तै सिरहाको बिष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरुषको बिहीबार राति बिराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको थियो । उनको पनि आइसियु तथा भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने थियो । तर अभावको कारण आइसोलेशनमै उपचार हुँदा ती व्यक्तिको मृत्यु भएको थियो ।

पछिल्लो समय संक्रमितहरुको संख्या बढ्दे जाँदा सरकारी अस्पतालमा आइसियु र भेन्टिलेटर नहुँदा बाहिर रेफर गरेका बिरामीको बाटोमै ज्यान जाने गरेको छ ।

Back to top