×

वीरगञ्ज ३० श्रावन । वीरगन्जस्थित नारायणी अस्पतालले दिने पीसीआर रिपोर्ट विश्वसनीय नभएको भन्दै प्रश्न उब्जिएको छ ।

अस्पतालको ल्याबले एउटै ब्यक्तिको रिपोर्ट पनि कहिले नेगेटिभ दिने र कहिले पोजेटिभ दिने गरेको छ । नारायणी अस्पतालको रिपोर्टमा विश्वास नलागेर काठमाडौंको ह्याम्स अस्पतालमा पुन: स्वाब चेक गराउँदा रिपोर्ट नेगेटिभ देखीएपछि यहाँको पिसिआर रिपोर्टमा आशंका उत्पन्न भएको हो ।

वीरगञ्जका स्थानीय युवा विवेक बस्नेतले साउन १२ गते पिसिआर परिक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । साउन २६ गते स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाहबमोजिम नारायणी अस्पतालमा भर्ना गरेर उपचार थाल्दा निमोनिय भएको चिकित्सकले बताएपछि पुनः स्वाब संकलन गर्दा पिसिआर रिपोर्ट पोजेटिभ आएको परिवारजन बताउँछन् ।

यहाँको उपचारमा अविश्वास भएपछि काठमाण्डौको ग्राण्डी अस्पतालमा भर्ना गरेर पुनः पिसिआर परिक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि वीरगञ्जको पिसिआर परिक्षण रिपोर्टको विश्वसनियतामा प्रश्न उब्जिएको हो ।

यसअघि पनि वीरगञ्जमै पिसिआर परिक्षण गराएका नेकपा नेता अरविन्द सिँहको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि कोरोना नभएको भनेर ढुक्क हुँदा स्वास्थ्यमा अँझै समस्या देखिएपछि काठमाण्डौमा परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखियो । त्यस्तै, पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवसँग पनि केही यस्तै घटना दोहोरियो ।

यस्ता घटनाहरु दोहोरिरहँदा पिसिआर परिक्षणको रिपोर्टमा आशंका उत्पन्न हुनु स्वभाविक पनि हो । तर यसरी जनताको स्वास्थ्यसँग खेलवाड गर्नु पक्कै पनि स्वभाविक हैन । जनता समाजवादी पार्टी पर्साका अध्यक्ष राजेशमान सिँहले यसरी जनताको स्वास्थ्य सँग खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै आक्रोश पोख्नुभएको छ । अध्यक्ष सिँह सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसअघि पनि यस्ता घटनाहरु भएको भन्दै अब पनि यस्तो घटना दोहोरिए कदापि सह्य नहुने बताउनुहुन्छ ।

यहाँका चिकित्सकहरुमा बिरामीहरु सबै उपचारको लागि बाहिर गए उपचारको टन्टै साफ हुन्छ भन्ने मानसिकता मौलाएको सिँहको आरोप छ । यदि ल्याबमा खराबी भए परिक्षण रोक्नुपर्ने तर यसरी गलत रिपोर्टका कारण जनतालाई भ्रममा पार्न नहुने सिँहले बताउनुभयो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासमा बाँचिरहेका जनताहरुलाई सहज अनि सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्नेमा अँझै उपचार नै नपाएर अस्पतालको ढोका चाहार्दा चाहार्दै मृत्युको मुखमा पुग्नुपर्ने अवस्था आउनु लज्जास्पद विषय भएको सचेत नागरिकको बुझाई छ ।

उपचार नपाएर बिरामीले ज्यान गुमाउनु मृत्यु नभएर हत्या भएको हुँदा उपचार नगर्ने अस्पतालको अनुमति खारेज गर्नुका साथै चिकित्सहरुलाई कारवाही गर्नुपर्ने माग पनि अहिले जोडदार रुपमा उठीरहेको छ । नागरिकले तिरेको करबाट तलब खाने चिकित्सकले नागरिककै उपचार नगरी उल्टै राजिनामाको धम्की दिने नौटंकी बन्द गर्नुपर्ने पनि बुद्धिजिविको भनाई छ ।

Back to top