×

काठमाडौँ ३० श्रावन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीले वाणिज्य बैंकहरुको नाफामा प्रत्यक्ष असर पारेको छ । आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशत अर्थात् ६ अर्ब २७ करोड रुपैयाँले घटेको हो ।

सामान्य अवस्था भएको भए औषतमा बैंकहरुको नाफा १५ देखि २५ प्रतिशतसम्म बढेको हुन्थ्यो । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले आर्थिक क्रियाकलाप ठप्पप्रायः हुँदा र सरकारले केन्द्रीय बैंकमार्फत् बैंकिङ क्षेत्रलाई प्रयोग गरेर ऋणीलाई राहत दिएपछि त्यसको असर बैंकिङ क्षेत्रमा परेको हो ।

सञ्चालनमा रहेका २७ वटा बैंकमध्ये कृषि विकास र प्रभु बैंकबाहेक शुक्रबारसम्म २५ वटा वाणिज्य बैंकले गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा ६ अर्ब २७ करोड रुपैयाँले घटेको हो ।

गत आर्थिक वर्षमा २५ बैंकले ५१ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । जबकी अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुको नाफा ५७ अर्ब ४४ करोड रुपैयाँ थियो ।

वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये १८ वटा बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको छ भने ७ वटा वाणिज्य बैंकको नाफा बढेको छ ।

कोरोनाको असर र राष्ट्र बैंकले ऋणीलाई दिएको सहुलियतका कारण २०७७ असार मसान्तमा वाणिज्य बैंकहरुको उठ्नुपर्ने ५१ अर्ब ७५ करोड रुपैयाँ ब्याज र किस्ता उठ्न नसक्दा त्यसको असर वित्तीय विवरणमा देखिएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी नाफा घट्ने बैंक हो सिभिल । यो बैंकको नाफा ३५.३९ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल एसबीआई बैंकको नाफा ३३.२२ प्रतिशतले घटेको छ भने सबैभन्दा कम कुमारी बैंकको नाफा ०.३१ प्रतिशतले घटेको छ । कुमारीले यो वर्ष देव विकास बैंकलाई गाभेको थियो ।

त्यसैगरी माछापुच्छ्रेको २६.२२ प्रतिशत, सानिमाको २४.५६ प्रतिशत, सिटिजन्स बैंकको २३.७२ प्रतिशत, नेपाल इन्भेष्टमेन्टको २२.६३ प्रतिशत, बैंक अफ काण्ठमाण्डूको २२.२१ प्रतिशत र नेपाल बंगलादेशको २०.७५ प्रतिशतले खुद नाफा घटेको छ । साथै, स्ट्याण्डर्ड च्यार्टर्र्डको १८.५१ प्रतिशत, सनराइजको १८.३५ प्रतिशत, एभरेष्टको १८.१४ प्रतिशत, नबिलको १५.८५ प्रतिशत र राष्ट्रिय वाणिज्यको ११.७७ प्रतिशतले नाफा घटेको छ ।

अघिल्लो आवको तुलनामा गत आवको असार मसान्तसम्म सिद्धार्थको ८.२६ प्रतिशत, हिमालयनको ८ प्रतिशत, नेपाल बैंकको १.५छ प्रतिशत र कुमारी बैंकको ०.३१ प्रतिशतले खुद नाफा घटेको छ ।

यसैगरी, कोरोनाले व्यवसायमा असर गरिरहँदा पनि अघिल्लो आवको तुलनामा गत आवमा ७ वटा बैंक खुद नाफामा वृद्धि गरेका छन् । जसमा सेञ्चुरीले ३३.९७ प्रतिशत, ग्लोवल आइएमईले ११ प्रतिशत, एनसीसीले १०.७४ प्रतिशत, मेगाले ५.५७ प्रतिशत, प्राइमले ४.२७ प्रतिशत, एनआइसी एशियाले ३.२४ प्रतिशत र एनएमबि बैंकले ०.५९ प्रतिशत खुद नाफा बढाएका छन् ।

कोरोनाको असरले व्यवसायमा सुस्ताएपनि गत आर्थिक वर्षको असार मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउने बैंकको अग्रपंक्तिमा पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नै परेको छ । साथै सबैभन्दा थोरै खुद नाफा कमाउने सिभिल बैंक छ । सिभिलको नाफा गत आवमा ४५ करोड ७० लाख रुपैयाँ छ ।

बढी नाफा कमाउने वाणिज्य बैंकको पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज बैंकले अघिल्लो आवको तुलनामा ११.७७ प्रतिशत खुद नाफा घटाएपनि समीक्षा अवधिमा बैंकले ४ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा बैंकको खुद नाफा ५ अर्ब ४ करोड रुपैयाँ थियो ।

यसैगरी हालसम्म वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुमध्ये गत वर्ष सबैभन्दा बढी खुद नाफा कमाउने बैंकको दोस्रो नम्बरमा नबिल बैंक छ । बैंकले अघिल्लो आवको तुलनामा १५.८५ प्रतिशतले नाफा घटाएपनि गत आवमा ३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले अघिल्लो आवको सोही अवधिमा ४ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साथै सो अवधिमा बढी नाफा कमाउने बैंकको तेस्रो नम्बरमा एनआइसी एशिया बैंक छ । बैंकले गत आवको असार मसान्तसम्म ३ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आवमा बैंकले ३ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष कमाएको खुद नाफा सोको तुलनामा ३.२४ प्रतिशत बढी हो ।

यसै वर्ष जनता बैंकसँग बीग मर्जर गरेको ग्लोवल आइएमई बैंक बढी नाफा कमाउने बैंकको चौथो नम्बरमा छ । बैंकले अघिल्लो आवको तुलनामा खुद नाफामा ११.८० प्रतिशतले वृद्धि गरी गत आवको असार मसान्तसम्म ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, गत आवको असार मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गरका वाणिज्य बैंकहरुमध्ये ११ वटा बैंकले २ अर्ब बढी, १२ वटा वाणिज्य बैंकले १ अर्ब बढी र २ वटा बैंकको खुद नाफा अर्ब भन्दा कम छ ।

Back to top