×

वीरगञ्ज २८ श्रावन । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालका संयोजक एवम् नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहले नारायणी अस्पतालबाट ३ सय ५० कर्मचारीले सामूहिक राजीनामा दिएको खबर गलत भएको बताएका छन् ।

सिंहले बुधबा सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो सार्वजनिक गर्दै नारायणी अस्पतालका कुनै स्वास्थ्यकर्मीले राजनीनाम नदिएको स्पष्ट पारेका हुन् ।

कोरोना सङ्क्रमितहरुको उपचारमा दिनरात खट्दासमेत स्वास्थ्यकर्मी र चीकित्सकलगायतलाई आक्रमण भएपछि बाध्य भएर नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले राजनीनाम दिएको भनेर विभिन्न समाचारहरु प्रकाशित भएका थिए ।

तर, डा. सिंहले आफुहरुले राजनीनाम दिने मनसाय बनाएपनि राजनीनामा भने नदिएको बताए । ' पर्साका प्रमुख तीन पार्टीको लिखित प्रतिवद्धता तथा प्रसाशनको सुरक्षा र अन्य प्रत्याभूति पश्चात् मौखिक रुपमा दिएको राजीनामा र लिखित रुपमा अस्पाताललाई दिएको राजीनामा सोही दिन फिर्ता गरायौँ । हामीले राजीनामा नै दर्ता गराएनौं,’ डा‍. सिंहले भिडियोमा भनेका छन् ।

भिडियो मार्फत उनले आफुहरु पुन: दैनिक कार्यमा फर्किसकेको जानकारी समेत गराएका छन् । 'हामी दैनिक कार्यमा फर्किसकेका छौं । केही अनलाइन पोटलमा प्रकाशित समाचारमा कुनै सत्यता छैन, भ्रमित नहौं,' डा‍. सिंहले भनेका छन् ।

यता अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले पनि चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको शान्ति सुरक्षा गरिनुपर्ने, स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने लगायत माग गर्दै राजीनामा बुझाउन गएपनि स्वीकृत नभएको जानकारी दिए ।

गत श्रावन २४ गते बिहान निजी अस्पतालले भर्ना नलिएपछि अकालमै ज्यान गुमाएकी छपकैया २ निवासी २० वर्षीय बिष्णु लामाको निधन भएको थियो । सोही बिषयलाई लिएर भोलिपल्ट आफन्तहरुले नारायणी अस्पतालको प्रांगणमा पुगेर तोडफोड गरेका थिए ।

नारायणी अस्पतालको अर्को भवनमा मेडिकल एशोसिएसनको बैठक बसिरहेको बेला अचानक एकहुल आएर पार्किङमा राखेको गाडीहरुमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारमा डा‍. सिंहको ना १२ च ५९६६ नम्बरको गाडीको सिसा फुटेको छ भने अन्य क्षति भएको थियो ।

तोडफोडका क्रममा अस्पतालका झ्यालका सिसाका साथै स्वाब संकलन गर्ने बुथमा समेत क्षति भएको छ । तर हाल सबै मर्मत गरेर पुन: अस्पताल सञ्चालनमा आइसकेको डा. सिंहले बताए।

https://www.facebook.com/yatradaily/posts/3195290270563607

Back to top