×

वीरगञ्ज - नारायणी अस्पताल वीरगञ्जमा कार्यरत ३५० जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले सामुहिक राजिनामा दिएको भनेर बाहिरिएको खबर अफवाह र प्रोपागाण्डाको रुपमा प्रचार गराएको खुलेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन उपाध्यायलाई कोट गरेरै बाहिरिएको खबरमा कुनै सत्यता नरहेको अस्पतालमै कार्यरत चिकित्सक तथा कर्मचारीहरुको दाबी छ ।

अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष सन्तोष सिंहले अस्पतालमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मी र कर्मचारीले सामूहिक राजिनामा नदिएको स्पष्ट पारेका छन् ।

‘अस्पतालका ३५० जना कर्मचारीले प्रमुख जिल्ला अधिकारी समक्ष सामुहिक राजिना दिएको भन्ने खबर आइरहेको छ,’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अस्पतालमा काम गर्ने उचित वातावरण मिलाउनका लागि दबाबमुलक कार्यक्रम गर्ने भनिएको हो तर सामुहिक राजिनामा कसैले दिएको छैन, अहिलेको परिस्थितिमा हामीले त्यस्तो गर्न पनि हुँदैन ।’ उनले भने बाहिर आएको खबरमा कुनै सत्यता छैन ।

विभिन्न अस्पताल चहार्दाचहार्दै उपचार नपाएर मृत्यु भएकी वीरगञ्ज २ छपकैयाँकी विष्णु लामाका आफन्त र स्थानीयले गएको आइतबार नारायणी अस्पताल अगाडि प्रदर्शन गरेका थिए । त्यस क्रममा अस्पताल परिसरमा रहेको कोरोना बुथ र एक जना चिकित्सकको निजी कारमा क्षति पुगेको थियो ।

उपचार नपाएर मर्न विवस भएकी लामाको परिवारले गरेको प्रदर्शनलाई गलत देखाउन अस्पतालका केही चिकित्सकले राजिनामाको प्रोपागाण्डा चलाएको हुन सक्ने भन्दै सामाजिक सञ्जालमा प्रतिकृयाहरु आइरहेका छन् ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजेशमान सिंहले चिकित्सकका सामु राजिनामाको अस्त्र भए पनि उपचार नपाएका जनता कहाँ जाने भन्दै प्रश्न गरेका छन् । पछिल्लो ६ दिनयता वीरगञ्जमा उपचार नपाएर ४ जनाले ज्यान गुमाउनु परेको छ । ‘नागरिकले उपचार पाउने वातवरण बनाइए प्रशर्दन गर्ने दिन आउँदैन थियो’ सिंह भन्छन्, ‘अहिले संकटको बेला चिकित्सकले राजिनामाको स्टण्ड गर्नु उचितपूर्ण होइन ।

राजिनामाको विषयमा सामाजिक सञ्जालमा चिकित्सकहरुकै बिरोध हुन थालेपछि अस्पतालका एक चिकित्सकले अहिलेको जटिल अवस्थामा आफ्नो ज्यानै जोखिममा राखेर संक्रमितको उपचारमा खटिरहेको भए पनि आफूहरुलाई नै लक्षित गरेर प्रदर्शन भएको भन्दै आवश्यक सुरक्षाका लागि दबाब दिन मात्रै सांकेतिक राजिनामा दिएको प्रष्टिकरण दिनु परेको थियो ।

चिकित्सकको राजिनामाकै विषयमा पत्रकार क्रान्ति साह लेख्छन् ‘राजिनामा पनि मौखिक हुन्छ र ?’

यस्तै पत्रकार राम मेहताले पनि उपचार नपाएर दैनिक बिरामीले ज्यान गुमाइरहनु पर्दा डाक्टरहरुले भने राजिनामाको नौटंकी चलाएको बताए । उनी भन्छन्, ‘क्लिनिक गएर चलाउ, पैसा लिएर उपचार गर्ने बानी जो पर्या छ ।’

यस्तै पत्रकार अशोक तिवारीले पनि चिकित्सकले तर्साउनका लागि मात्रै राजिनामाको नौटंकी गरेको बताए ।

Back to top