मन्त्रालयले ढिलाई गर्दा कोरोनाको औषधि रेम्डेसिभिर आयातमा समस्या

164

वीरगञ्ज २८ श्रावन । कोरोना संक्रमित र यसबाट मृत्यु हुनेको संख्या बढिरहेका बेला आपत्कालीन औषधि आयातमा अनपेक्षित विलम्ब भइरहेको छ । २ महीना लगाएर रेम्डेसिभिर इन्जेक्शन आयातको बाटो खोलेको औषधि व्यवस्था विभाग अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक पत्र पर्खिएर बसेको छ ।

अन्य देशमा कोरोनाको उपचारमा प्रभावकारी मानिएको यो औषधि आयातका लागि व्यवसायीले २ महीनाअघि नै निवेदन दिएकोमा विभागले गत आइतवार कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधि तयार भएसँगै आयातको सिफारिश दिने तयारीमा गरेको थियो ।

औषधि आयातको प्रक्रिया टुंगो लगाउन मन्त्रालयले गठन गरेको समितिको पत्र कुरेर बसेको विभागका प्रवक्ता सन्तोष केसीले बताए । ‘आयात प्रक्रियाका लागि यसअघि नै सिफारिश गरे पनि औषधिको प्रयोग कसरी गर्ने भन्नेबारेमा आधिकारिक पत्र पर्खिएका छौं । मन्त्रालयबाट पत्र आउनेबित्तिकै आयात अनुमति दिन्छौं,’ प्रवक्ता केसीले भने ।



यसअघि नै नौओटा व्यावसायिक फर्मले औषधि आयातका लागि निवेदन दिइसकेको जानकारी केसीले दिए । मन्त्रालयबाट पत्र आएपछि त्यसैका आधारमा आयातको अनुमति दिइने उनले बताए ।

विभागले गत असार १० गते रेम्डेसिभिर र फाभिपिराभियरको आयात सिफारिशका लागि मन्त्रालयसित निर्देशन मागेकोमा मन्त्रालयले विभागलाई अनुमति दिन १ महीना समय लगाएको थियो । विभागले कार्यविधि तयार पार्न थप १ महीना लगायो ।

रेम्डेसिभिर इन्जेक्शन भारत, बंगलादेश, पाकिस्तानलगायत देशमा कोरोनाको उपचारमा प्रभावकारी देखिएको छ । औषधिको आपत्कालीन आयातमा विलम्ब गरेको भन्दै चिकित्सा क्षेत्रबाट विभागको आलोचना भइरहेको छ । आयात अनुमतिमा भइरहेको ढिलाइका कारण औषधिको अवैध आयात र कालोबजारी भइरहेको चिकित्सा क्षेत्रका सरोकारवालाले बताएका छन् । आर्थिक अभियान दैनिकबाट साभार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here