×

अशाेक कुशवाहा

एक साता भित्र भएको ६ जनाको मृत्यु घटनाक्रमको दोषी निजी स्वास्थ्य संस्था मात्र होइन संबन्धित निकाय पनि उतिकै दोषी देखीन्छन । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोनाको बहानामा बिरामी उपचार नगर्ने निजी स्वास्थ्य संस्थाहरुलाई कानूनी कारवाही सम्बन्धी सूचना निकाले पनि ती संस्थाहरु सूचनाको वास्ता नगरेको देखीन्छन । जिल्ला प्रशासन कार्यालयले यस्ता निजी स्वास्थ्य संस्थाहरुलाई करवाहीको दायरामा ल्याउन नसक्नुले स्थानीय जनतामा आक्रोश उत्पन्न गरेको छ ।

स्वास्थ्य सम्बन्धी संस्थाहरुको गैरजिम्मेवारी पूर्ण कार्यले भएको मृत्युलाई, मृत्यु मात्र नभइ हत्या भएको आरोप स्वास्थ्य संस्थामाथि मृतकका आफ़न्तहरु लगाउछन र उचित छानबिन गरी दोषीमाथि करवाहीको मागपनि मृतकका परिवारहरुले गरेको देखिन्छ । तर हालसम्म निजी स्वास्थ्य सम्बन्धी संस्था प्रति जिल्ला प्रशासन कार्यलयको मौनताले जिल्ला प्रशासन कार्यालयको कमी कमजोरी उजागर गर्दछ । यदि प्रशासनले एउटा पनि निजी स्वास्थ्य स्वास्थ्य संस्थालाई करवाही गरेको भए धेरैजनाको ज्यान जोगिने थियो, मृतकका आफन्त सुनाउँछन् ।

त्यस्तै पर्सा प्रहरी उपरीक्षक गङ्ग पन्त वीरगञ्जवासीलाई दोषारोपण गर्दै वीरगञ्जका जनताले सतर्कता नअपनाएर यस्तो भयावह स्थिति हुन पुगेको भन्नु हुन्छ तर के प्रहरी निकायले आफ्नो भूमिका र जिम्मेवारी ईमानदारी पूर्वक निर्वाह गर्यो त ? वीरगञ्ज पावरहाउस चौकदेखि रजतजयन्ती चौकसम्म मेनरोड मात्र प्रवेशनिषेध गर्दैमा समस्याको समाधान हुने हो र ? साधारण जनताको लागि भारत-नेपाल सिमाना बन्द गरिए पनि तस्कर तथा तस्करीको लागि सिमाना रातदिन खुल्ला हुनु, सीमा पारीबाट पैसा लिएर मानिसहरुलाई नेपाल छिर्न दिनुमा, के प्रहरीको दोष देखिदैन ? वीरगञ्जमा सामुदायिक स्तरमा कोरोना फैलाउनमा स्थानीय जनता भन्दा पनि प्रहरी निकायको दोष बढी देखिन्छ । एक अर्कामाथि दोषारोपणको कार्य बन्द हुनु र स्थानीय जनता समेत हरेक निकायको परस्पर समन्वय आवश्यक छ । कोरोना संक्रमण नेपाल छिर्नु भन्दा पहिले पूर्वयोजनाको कमी, बिज्ञ चिकित्सकको कमी, संभावित संक्रमितको लागि पूर्व एकांतवासको व्यसथाको कमी, राहत व्यवस्थापन सम्बन्धी पूर्व योजना तथा अनुमान नहुनु तथा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्य सम्बन्धी संस्था बीच परस्पर समन्वयको कमीले गर्दा वीरगञ्जको अवस्था आज कोभिड-१९ को केन्द्र बन्न पुगेको छ ।

बढ्दो संक्रमणको चपेटामा परी वीरगञ्ज महानगरका प्रमुख जिम्मेवार राजनीतिक एवं सामाजिक व्यक्तित्वहरु आइसोलेट भए पश्चात वीरगञ्ज अहिले टुहुरो बन्न पुगेको छ । अहिले वीरगञ्जको पूर्ण जिम्मेवारी यहाँका युवावर्ग माथि आईपरेको देखिन्छ । सरकार र सरोकारवाला व्यक्ति एवम् संस्था जब आफ्नो जिम्मेवारीबाट भाग्छ त्यतिबेला सामाज आफ्नो अस्तित्व माथिको खतरासँग लड्दै इतिहास रचेकों थुप्रै उदाहरण भेटीन्छन । मधेस आन्दोलन होस या देश निर्माण कार्यमा वीरगञ्जको युवा सामाज आफ्नो जिम्मेवारी र बलिदानी देखि कहिले पछि हटेको इतिहास छ ।

वीरगञ्जमा विगत एक हप्ता भित्र भएको ६ घटनाक्रमले वीरगञ्जमा रहेका निजी अस्पताल तथा चिकित्सा पेशा प्रति स्थानीय जनताको सोचनै नकारात्मक भएको देखिन्छ । कोरोनाको कहर बढ्दै जाँदा सामुदायिक स्तरमा संक्रमित संख्या र मृतक संख्या बढ्दै गएको दु:खदायी र त्रासमय अवस्था छ । कोभिड-१९ भन्दा पनि अन्यरोग वा सामान्य विरामी पनि समयमा उपचार नपाएर मृत्यु हुनेको संख्या बढी देखिन्छ । निजी अस्पतालहरु सामान्य रूखा खोकी या अन्य कुनै कारण पनि अस्पतालमा भर्ना लिन नमन्नूले मानवसेवाको लागि सामर्पित अस्पताल आफ्नो जिम्मेवारीबाट पछि हटेको आभास हुन्छ । जसरी न्यायको लागि अन्तिम विश्वसिलो न्यायालय मानीन्छ ठीक त्यस्तै बिरामिको लागि बाच्नलाई स्वास्थ्य संस्था र डाक्टर भनेका अन्तिम विश्वसिलो संस्था वा पात्र मनीन्छ । स्वास्थ्य र शिक्षा भनेको जनताको आधारभूत मौलिक अधिकार हो । निजी स्वास्थ्य संस्थाहरुले गरेको अमानवीय कार्य र मौलिक अधिकारको हननलाई हेर्दा सरकारले यस्ता स्वास्थ्य संस्थाहरुलाई आफ्नो मातहतमा राखी आधुनिकीकरण गरी सञ्चालन गर्ने आवश्यकता वीरगञ्जको सन्दर्भमा अपरिहार्य देखीन्छ । नारायणी अस्पताल तथा नारायणी अस्पतालको मातहतमा रहेको कोभिड-१९ अस्पतालहरुको लापरवाहीमा मेडिकल सुपरिटेन्डेन्टको कमीकमजोरी देखिन्छ भने बिना उचित पीपीइ आफ्नो ज्यान जोखिममा राखेर दिनरात कोभड-१९ संक्रमितको स्वास्थ्यसेवामा लागेका डाक्टरहरुको सरहनीय कार्य नकार्नपनि मिलदैन । वीरगञ्जका सञ्चारमाध्यमहरुले वीरगञ्ज संक्रामणको सन्दर्भमा सराहनीय योगदान देखिन्छ तर वीरगञ्ज भनेको गण्डकदेखि भन्सारसम्म मात्र होइन बुझ्न जरूरी छ र सञ्चारको दायरा फरकीलों पार्न जरूरी देखिन्छ ।

एक साता भित्रका घटनाक्रमहरु :

घटना १ : श्रावण २० गतेका दिन पीसीआर रिपोर्ट पोजेटिभ देख्नसाथ सोही दिन राति ९ बजे एम्बुलेन्स मार्फत वीरगञ्ज हेल्थ केयर (कोभिड-१९ अस्पताल) पुगेका वीरगञ्ज महानगरपालिका वाड नम्बर १५ का प्रमोद कुशवाहाको बिहान साढे ५ बजे संकास्पद मृत्यु हुन्छ । श्रावण २१ गते बिहान ५ बजेर २८ मिनटमा कुशवाहाको कान्छो छोराले बाबूलाई फोन गर्छन । बाबूले छोरालाई अस्पतालको व्यवस्था सम्बन्धी गुनासो सुनाउँदै भन्छन, ‘अस्पताल भन्दा घरनै ठीक थियो’ । त्यसपछि विरामीलाई सम्पर्क गर्दा फोन उठदैन उनका दाजू सुनाउँछन् । एक्कासी अस्पतालबाट बिहान ८ बजेर १५ मिनेटमा दाजू रामदरशलाई फोन आउछ र तपाई प्रमोद कुशवाहाको आफन्त बोल्नु भएको हो । यताबाट उतरमा हो, सुनेपछि महिला कर्मचारीले भन्छिन, ‘सर हामी धेरै प्रयास गर्यौ आइसीयु भेन्टिलेटरसम्म तर हामी हजूरको भाईलाई बचाउन सकेनौं । उहाको बिहान साढे ५ बजे दु:खद निधन भयो ।

अस्पतालको डाक्टरहरुको लापरवाहीकै कारण भाईको अकालमय ज्यान गयो मृतकका दाजू रामदरश र भाई उदयनारायण सुनाउँछन् । हामी न्यायको लागि संबन्धित निकायदेखि लिएर प्रशासन एवम सुरक्षा निकायसम्म गुहार्यौं तर कतैबाट सन्तोषजनक जवाफ आएन । मृतकको परिवार पिडामा भएपनि अस्पतालको लापरवाहीले अरुको ज्यान नजाओस भन्दै उनको उपचार कसरी भएको आफ्नो सन्तुष्टिकोलागि उपचार कक्षमा जडित सीसीटिभी कमेराको फुटेज देखाउन अस्पताल प्रशासनसमेत जिल्ला प्रशासन, सुरक्षानिकाय र सम्बन्धित निकायसँग अनुरोध गरेपनि अहिलेसम्म सन्तोषजनक जवाफ कतैबाट नआएको दु:ख मृतकका परिवार सुनाउँछन् । मृत्यु प्रमाण पत्रमा मृत्युको समय साढे ६ बजे लेखिएको आपत्ति जनाउँडा पनि केही प्रतिउतर अस्पतालबाट पाइंदैन ।

घटना २ : श्रावण २२ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ६० बर्षीय चलितर महतोलाई पीसीआर नेगेटिभ रिपोर्टका साथ परिवारजन वीरगञ्जको नेसनल मेडिकल कलेज उपचारको लागि लिएर जान्छन तर पीसीआर रिपोर्ट नेगेटिभ हुँदाहुँदैपनि अस्पतालले भर्ना लिन मानदैन । नेसनल मेडिकल कलेज आकस्मिक कक्षको गेट अगाडि नै रिक्शामा बिरामीको मृत्यु हुन्छ । आकस्मिक कक्षका चिकित्सकलाई समेत पीसीआर नेगेटिभ रिपोर्ट देखाउँडा भर्ना लिन नमानेको मृतकका भाई शम्भू महतो भन्छन, ‘समयमा उचार नपाएर दाईको मृत्यु भयो’ ।

घटना ३ : श्रवण २३ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का २० वर्षीय महिला बिष्णु लामालाई बिहान सामान्य ज्वरो र खोकी लाग्छ । सोही दिन राति लगभग १० बजे श्वासप्रश्वासमा समस्या आएकाले उनका भीनाजु रूपेश सिंह उनलाई अटोमा राखी वीरगञ्जको एडभान्स हास्पिटल पूगछन । अस्पतालका चिकित्सकले विरामीमा कोरोना संक्रमणको लक्षण देखिएकाले त्यहा इमर्जेन्सी सेवा बाहेक बाकी सेवा बन्द छ भन्दै वयाेधा अस्पताल लैजान सुझाव दिन्छन ।

शुक्रवार मात्रै ब्योधा अस्पतालका चिकित्सक तथा नर्स समेत १५ जनामा कोरोना संक्रमण र त्यही अस्पतालको आईसीयूमा मृत्यु भएका दुई महिलामा पनि कोरोना पुष्टि भएको हुनाले यहाका डाक्टरहरुलाई कोरोना लागेको छ उपचार सेवा दिन सकीदैन भन्दै फिर्ता पाठाइन्छ ।

विरामी लामालाई कोभिड़-१९ बिशेष अस्पताल गण्डक लिएर जानछन । गण्डक अस्पतालले कोरोना पुष्टि नभएकालाई राख्न मिलदैन भन्दै फर्काउछ । त्यस पछि विरामीलाई भवानी अस्पताल लगीन्छ । भवानी अस्पतालले गेट बाहिरबाटनै फर्काउछ । त्यसपछि उनलाई तराई अस्पताल लगीन्छ । विरामीको लक्षण थाहा पाउँन साथ तराई अस्पतालमा आईसीयू खाली छैन भन्दै विरामीलाई फर्काईन्छ ।

विरामीलाई ततपश्चात वीरगञ्जको नेसनल मेडिकल कलेज लिएर गईन्छ तर त्यहा पनि अनेकौँ प्रयास विफल हुन्छ र त्यहाबाट पनि फर्काईन्छ । एक जना स्थानीय पत्रकार र युवा नेताको पहलमा उनलाई पुन: नारायणी अस्पताल लगीन्छ । नारायणीमा ड्यूटीमा खटेका चिकित्सकले यहा सामान्य उपचार मात्रै सम्भव छ तर विरामीको लक्षण कोरोनाको देखीन्छ त्यही भएर यहा उपचार सम्भव छैन भन्दै पुन: फर्काईन्छ ।

त्यसपछि उनलाई नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर लगीन्छ । वीरगञ्ज हेल्थ केयरले नन-कोभिड विरामी भर्ना गर्न मिलदैन भन्दै फर्काउछ । पत्रकार र युवा नेता तबरेज आलम कै पहल र डाक्टर उदय नारायण सिंहको समन्वयमा विरामीलाई पुन कोभिड-१९ विशेष अस्पताल गण्डक लगीन्छ । गण्डक अस्पतालको गेटमा उपचार पाउँनु पूर्व नै उनको मृत्यु हुन्छ ।

घटना ४ : वीरगञ्ज महानगपलिका वाड नम्बर २५ की ६५ बर्षीय बृद्ध महिला मधुमेह बाहेक उनको ढाड दुख्ने समस्या छ तर प्राय सामान्य उपचारले ठीक हुन्छिन । श्रावण २४ गते राति उनको ढाडको समस्याले ग्रसित बनाउँछ । ढाडको दुखाई सहन नसकेर उनलाई वीरगञ्जको एडभान्स हास्पिटल लगीन्छ । एडभान्स हास्पिटलले भर्ना लिन नमाने पछि उनलाई नेशनल मेडिकल लगीन्छ । नेशनल मेडिकलले पनि भर्ना लिन नमानेपछि उनलाई नारायणी अस्पताल लगीन्छ । नारायणी अस्पतालले पनि भर्ना लिन नमाने पछि उनलाई नेपाल इन्डो अस्पताल लगीन्छ । नेपाल इन्डो अस्पतालले पनि भर्ना लिन मानदैन त्यही क्रममा विरामीको मृत्यु हुन्छ । मृतकका नाती अर्जुन साह दु:ख सुनाउदै भन्छन । मेरो हजूरआमा बाचुञ्जेल कुनै पनि अस्पतालले भर्ना लिन मानेन अब उनको मृत्यु पछि स्वाब संकलनको लागि शव प्रहरीलाई चाहियो रे । समयमा उपचार नपाएर मेरो हजूरआमाको मृत्यु भयो उनी सुनाउँछन् ।

घटना ५ : श्रावण २३ गते वीरगञ्ज महानगपलिका वडा नम्बर १३ का ६२ वर्षीय शारदा देवी रौनियारलाई राति श्वासप्रश्वासको सममस्या देखिन्छ र उनलाई तराई अस्पताल लगीन्छ । तराई अस्पतालाले भर्ना लिन नमानेपछि विरामीलाई नेशनल मेडिकल कालेज पुर्याइन्छ । नेशनल मेडिकल कालेजले पनि भर्ना लिन नमानेपछि अन्तत् नारायणी अस्पताल लगीन्छ । नारायणी अस्पतालको आकस्मिक सेवा कक्ष आगाडी शनिवर बिहान पौने ११ बजे उनको मृत्यु हुन्छ । आरडीटी परीक्षण नेगेटिभ भएपनि निजी अस्पतालहरुले भर्ना लिन मानेनन् । यदि अस्पताल र चिकित्सकले चिकित्सकीय धर्म अपनाएको भए आकाल मै मृत्यु हुने थिएन, मृतकका एक आफन्तले दु:ख सुनाउँछन् ।

घटना ६ : श्रावण २४ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोलका वीरगञ्ज कालेज कक्षा ११ मा अध्यनरत छात्र अनीश गुप्ताको स्वास्थ्य खराब हुन्छ र उनका आफन्त उनलाई नारायणी अस्पताल लिएर जानछन । नारायणी अस्पतालले भर्ना लिन अस्वीकार गर्छ र त्यहाबाट उनलाई नेशनल मेडिकल लगीन्छ तर अस्पताल नपूगदै बाटोमा उनको मृत्यु हुन्छ । मृत्यु पश्चात प्रहरी निकाय मृतक शरीरको लागि मृतकको घर पूगछन तर स्थानीयको विरोध पश्चात प्रहरी फर्कीन्छन र उनको अन्तिम संस्कार गरिन्छ ।

अंतत : कोरोना महामारीको संक्रमणकालमा वीरगञ्जमा घटित यी घटनाक्रमको दोषी को त ? के ती स्थानीय जनता दोषी छन त जसले समयमा उपचार नपाएर ज्यान गुमाउँदै छन ? ती स्वास्थ्य सम्बन्धी संस्थाहरु जसले कोभिड-१९ को नाममा सामान्य उपचार र आफ्नो मानव प्रतिको दायित्वबाट पन्छिन खोज्दै छन ? या जिल्ला प्रशासन कार्यालय जसले निजी स्वास्थ्य संस्थाहरुलाई उपचार नगरे कानूनी करवाही गर्ने सूचना निकालेपनि मौन बसेको छ ? या ती सुरक्षा निकाय जसलाई मारणोपरान्त स्वाब संकलनलाई शव चाहिन्छ तर बाचुन्जेल उपचारको व्यवस्था मिलाउन सक्दैन ?

Back to top