×

वीरगञ्ज २६ श्रावन । कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत कोहलपुर नगरपालिका-२ की ७० वर्षीया महिलाको आइतबार दिउँसो मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि ती महिला कोहलपुर मेडिकल कलेजमा केही दिनअघि भर्ना भएकी थिइन्। अस्पताल भर्ना भएपछि महिलाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीकी ४५ वर्षीया महिलाको पनि कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ। मृत्युपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि कोभिड अस्पताल भर्ना गरिएको महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

त्यस्तै, ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। कलंकी ट्याङ्लाफाँट निवासी ६४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो।

निमोनिया र मधुमेहको रोगी रहेका पुरूष साउन १५ गते अस्पताल भर्ना भएका थिए। कोरोनाको आशंकामा उनको साउन १९ गते स्वाब संकलन गरी परीक्षण गरिएको थियो। साउन २१ गते आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो।

त्यसैगरी, काठमाडाैंकाे मध्यबानेश्वका ७६ वर्षीय पुरुषकाे साेमबार बिहान १० बजे मेडिकियर अस्पतालमा मृत्यु भएकाे छ। योसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ।

Back to top