×

वीरगञ्ज २६ श्रावन । कोरोना सङ्क्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा लगाउँदा वीरगञ्जको मुख्य सडकका सबै पसल बन्द भएतापनि लुकीछिपी रानीघाट, बिर्ता, नगवा, राधेमाई, मुर्ली, छपकैयाका गल्ली गल्लीमा लुकिछिपी पसलहरू खुल्ने गरेका थिए । तर पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिएको त्रासका कारण वीरगञ्जका लुकिछिपी गल्लि गल्लीमा खोलिने पसल बन्द भएका छन ।

कोभिड–१९ व्यवस्थापन सङ्कट केन्द्र पर्साले श्रावन २३ गतेको बैठकबाट निषेधाज्ञा अवधिमा मापदण्ड पूरा गरी पसल, व्यवसाय, बैंक सञ्चालन गर्न निर्णय गरे पनि वीरगञ्जमा समुदायस्तरमा कोरोना फैलिएको कारण व्यवसायीहरूले नै पसल खोलेका छैनन् ।

केन्द्रले श्राव १० गतेदेखि सदरमुकाम र साउन १९ गतेदेखि जिल्लाभर अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवा बन्द गर्न निर्देशन जारी गरेकोमा साउन २३ गतेको निर्णयबाट पसल, उद्योग, व्यवसाय सञ्चालन र बैंकिङ सेवा सुचारु गर्न दिने निर्णय गरेको थियो ।

स्वास्थ्य र सुरक्षाका शर्तहरू पूरा गरी भीडभाड नगरेर स्थानीय तह र प्रहरीसँगको सहकार्यमा उचित समयमा सञ्चालनको अनुमति दिए पनि वीरगञ्ज महानगरमा कुनै पनि पसल, व्यवसाय सञ्चालनमा आएनन् भने बैंक पनि खुलेनन् ।

यसअघि लकडाउन, निषेधाज्ञा लागू हुँदा व्यवसाय र बैंक सञ्चालनको माग हुने गरेको थियो । अहिले केन्द्रले नै व्यवसाय र बैंक सञ्चालनको निर्णय गर्दा सङ्क्रमणको त्रासले कसैले पनि सञ्चालन गरेका छैनन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले निषेधाज्ञा लम्बिंदै जाँदा पनि कुनै पनि व्यवसायीले यसपटक पसल खोल्न फोन नगरेको बताए । यसअघि उनले कोरोना सङ्क्रमण समुदायमा नदेखिंदा व्यवसायीको फोन आएर हैरान हुने र उनीहरू स्वयम् आन्दोलनमा उत्रेर दबाब दिने गरेको बताए ।

Back to top