×

वीरगञ्ज २६ श्रावन । बिरामीको उपचार नगर्ने अस्पताललाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिदाँ पक्राउ परेका नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले अहिलेसम्म रिहा गरेको छैन । पक्राउ परेको पक्राउ परेका नेविसंघका विकास तिवारी, मनोज साह, शेष हजारालाई हाल प्रहरी हिरासतमै रहेका छन् ।

हिरासतमा रहेका उनीहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गरेको भन्दै हिरासतबाटै आमरण अनसन शुरु गरेका छन् । नेवि संघका विकास तिवारी भने, “हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भयो, त्यो किन भयो ?” प्रहरीको हस्तक्षेप विरुद्ध हिरासतबाटै आमरण अनसन शुरु गरेको उनले जानकारी दिए । “शान्तिपूर्ण रुपमा धर्ना दिइरहेका बेला प्रहरीले लाठीचार्ज गयो, यो सरासर प्रहरीको ज्यादती हो, घटनामा लाठीचार्ज गर्ने प्रहरीलाई कारवाही नभईन्जेल आमरण अनसन जारी रहनेछ,” उनले भने “अनि जुन हाम्रो माग छ, त्यो पनि पूरा हुनपर्‍यो ।”

हिरासतबाटै आमरण अनसन शुरु गरेका उनीहरुलाई प्रहरी उपरीक्षक गंगा पन्तले भने क्वारेन्टाइनमा राख्ने धम्की दिएको तिवारीले बताए । तिवारीले भने “ठीक छ, हामी क्वारेन्टाइनमा बस्छौं तर हामीमाथि लाठीचार्ज गर्ने सबै प्रहरीलाई पनि हाल्नु पर्‍यो ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले निषेधाज्ञा लगाएका बेला प्रशासन कार्यालय अगाडि प्रदर्शन र हुलहुज्जत गरेकोले नेविसंघका कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए ।

यसअघि, वीरगञ्जमा अस्पतालहरूमा बिरामीको उपचार हुनुपर्ने, आर्थिक अवस्था कमजोर भएकालाई राहतको व्यवस्था गरिनुपर्ने, कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई उचित सेवा सुविधा दिनुपर्ने लगायत छ बुँदे माग राखेर नेविसंघले सोमबार बिहान प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन लागेको थियो । तर जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले नेविसंघ कार्यकर्तालाई लाठीचार्ज गरेको थियो भने तीन जनालाई पक्राउ गरेको थियो ।

यसैबीच, नेविसंघ अध्यक्ष राजिब ढुंगानाले आज विज्ञप्ति निकालेर पक्राउ परेका नेविसंघका विकास तिवारी, मनोज साह, शिष हजारालाई तत्काल रिहा गर्न माग गरेका छन् । रिहाइ नगरे कडा आन्दोलन गर्ने अध्यक्ष ढुंगानाले चेतावनी दिएका छन् । यता, नेपाली काँग्रेस पर्साका उपसभापति राजु गुप्ता नेता राकेश यादव लगायतले पनि पक्राउ परेका नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

Back to top