उपचार नपाएर निधन भएकी विष्णु लामाको छोरीलाई मुनलाईट माविले निशुल्क पढाउने

548


वीरगञ्ज – उपचार नपाएर मृत्युवरण गरेकी वीरगञ्ज २ छपकैयाँकी २० वर्षीय महिला विष्णु लामाको छोरीको अध्ययनमा मुनलाईट माविले सहयोग गर्ने घोषणा गरेको छ ।

आमाको निधनपछि छोरीको अध्ययनमा बाधा पुग्न सक्ने देखिएकाले आफूहरुले छोरीको पठनपाठनको जिम्मा लिने विद्यालयका निर्देशक एवं प्रधानाध्यापक श्यामकुमार केसीले घोषणा गरेका छन् । ‘मेरो विद्यालयमा अध्ययनरत विद्यार्थी दिपीकाको आमाको निधन भएको खबरले आफूलाई मर्माहत बनायो,’ उनले भने, ‘आमाको निधनपछि छोरीको पढाईमा अवरोध आउन नदिन उनलाई हामी १० कक्षासम्म निशुल्क पढाउन जिम्मा लिन्छौँ ।’

५ वर्षीय दिपीका अहिले एलकेजीमा अध्ययनरत छिन् । दिपीकाको पढाइमा आवश्यक पर्ने सबै सहयोग गर्न विद्यालय तयार रहेको विद्यालयका प्रबन्ध निर्देशक सुलभ केसी बताउँछन् ।



लामाको गएको शनिबार बिहान निधन भएको थियो । दिपीकाको जन्मपछि विदेश लागेका बाबु अहिलेसम्म नफर्कँदा उनको रेखदेख आमाले नै गर्दै आएकोमा आमाको नै निधन भएपछि ५ वर्षीय छोरीको रेखदेखमा समस्या आएको छ ।

लामाले ज्यालामजदुरी गरेर गुजारा चलाउनुका साथै छोरीलाई वीरगंजकै मुनलाइट माविमा पढाउँदै आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here