×

वीरगञ्ज २५ श्रावन । प्रदेश नं. २ मा मुख्यमन्त्री लालबाबु राउत गद्दी नेतृत्वको सरकारले कोरोना कहरमा काम गर्ने घोषणा र आश्वासन बाडिरहेको बेला एउटा गैर सरकारी संस्थाले सरकार भन्दा बढी काम गरेर देखाएको छ ।

मुख्यमन्त्री लालबाबु राउत गद्दी नेतृत्वमा रहेको प्रदेश नं. २ को सरकारले कोरोनाभाइरस महामारी भर्खरी नेपाल प्रवेश गरेको बेला प्रदेशका सरकारी अस्पतालहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री र मुख्यत भेन्टिलेटर उपलब्ध गराउने घोषणा गरेको थियो । तर, घोषणा गरेको लगभग ४ महिना बितिसक्दा समेत प्रदेश २ सरकारले भेन्टिलेटर त् किन्न सकेको छैन तर नयाँ घोषणाहरु भने धेरै गरेको छ ।

तर यता प्रदेश नं. २ मा कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कुनै कमि आएको छैन । दिनहु सयौंको सङ्ख्यामा कोरोना सङ्क्रमित बढिरहेको बेला प्रदेश सरकारको अनुपस्थितिलाई सानो पाइलाले भरेको छ ।

प्रदेश २ मा कतिपय कोरोना सङ्क्रमितहरुको अवस्था गम्भीर देखिन थालेपछि सानो पाइलाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ थान भेन्टिलेटर उपलब्ध गराएको छ । नारायणी अस्पताललाई उपलब्ध गराइएको भेन्टिलेटर इनभेसिब र नन-इनभेसिब प्रकारका रहेको सानो पाइलाले जनाएको छ ।

पछिल्ला दिनहरूमा पर्सा जिल्लामा कोरोना भाइरस सङ्क्रमणको प्रकृति र रफ्तार चिन्तित तुल्याउने किसिमको छ। लक्षण देखिएका र दीर्घरोगी सङ्क्रमितलाई कुनै पनि बेला भेन्टिलेटरजडित आईसीयूमा राखेर उपचार गर्नुपर्ने देखिएकाले नारायणी अस्पतालवाट यो सेवा प्रवाह गर्न लागिएको सानो पाइलाको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले गरेको वर्गीकरणअनुसार प्रदेश २ मा लेभल १ का अस्पतालमा ५ र लेभल २ का अस्पतालमा ५ गरी मात्र १० भेन्टिलेटर भएको अवस्था छ । त्यसैले भेन्टिलेटरको अभाव हुन सक्ने देखेर नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरिएको सानो पाइलाका गभर्निङ बोर्ड सदस्य डा. राकेश कुमार झाले जानकारी दिए । 'कोरोना सङ्क्रमणको विद्यमान परिदृश्य हेरेर हामीले हाललाई तीन महिनाका लागि भेन्टिलेटरहरु उपलब्ध गराएका छौँ । आवश्यक परे थप समय सेवा दिन पनि सकिन्छ,' बोर्ड सदस्य डा. झाले भने।

सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिससँगको सहकार्यमा नारायणी अस्पताललाई तीन महिनाका लागि भेन्टिलेटर उपलब्ध गराएको हो । काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच सानो पाइलाका सभापति सुदीप कुमार लामा र नेपाल भेन्टिलेटर सर्भिसका सह-संस्थापक डा. विशाल ढकालले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कोरोना सङ्क्रमितको उपचारका लागि भेन्टिलेटर सेवा उपलब्ध गराउन सहायता नेपाल र बुढानिलकण्ठ पूर्व विद्यार्थी समाजले आर्थिक सहयोग गरेका हुन्।

Back to top