×

आशुकुमार सर्राफ / वीरगञ्ज २४ श्रावन । वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कोभिड विशेष अस्पताल बनाउन केन्द्रमा सिफारिस गर्ने निर्णय भएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साको शुक्रबार बसेको बैठकले नेशनल मेडिकल कलेजलाई ३ सय शैयाको कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

पर्सामा सञ्चालित कोभिड अस्पतालहरुले सङ्क्रमितहरुको चाप धान्न नसकेपछि सङ्क्रमितहरु होम र पेड होटल आइसोलेसनमा बस्दै आएका छन् । जिल्लामा गण्डक कोभिड विशेष अस्पतालमा ६० र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा १ सय ५० गरी जम्मा २ सय १० बेडको आइसोलेसन सञ्चालनमा छ ।

तर जिल्लामा सङ्क्रमित बढ्ने क्रमि रोकिएको छैन । आज मात्रै जिल्लाभारीमा ५५ जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमितहरुलाई राख्ने नभएको कारण आज थपिएका मध्ये अधिक्तक अहिलेपनि होम र पेड आइसोलेसन सेन्टरमै छन् ।

यसै समस्यालाई मध्यनजर गर्दै सङ्कट व्यवस्थापन केन्द्रले नारायणी अस्पतालमा समेत कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसैबीच स्थानीय प्रशासनले बैठकले लक्षण भएका र सामान्य लक्षण भएका सङ्क्रमितहरुलाई राख्न थप सामुदायिक आइसोलेसन सेन्टर सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

वीरगञ्जमा महानगरपालिका वडा नं. ९ घडिअर्वा स्थित गोपाल मण्डली धर्मशालामा १ सय ११ बेडको, वीरगञ्ज महानगरपालिका वडा नं. १३ चिनीमिल आवास क्षेत्रस्थित सिद्दार्थ माध्यमिक विद्यालयमा ६० बेडको, वीरगञ्ज महानगरपालिका वडा नं. ८ लिंकरोडस्थित होटल रानीपोखरीमा ६० बेडको र वीरगञ्ज महानगरपालिका वडा नं. ६ मेनरोडस्थित राणी सति अतिथि सदन धर्मशालामा ६० बेड गरि २ सय ८० को सामुदायिक आइसोलेसन सेन्टर निर्माण गरिने जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्तासमेत रहेका बस्नेतले जानकारी दिए । सामुदायिक आइसोलेसन सेन्टरहरुमा वीरगञ्ज कारागारका कोरोना सङ्क्रमितहरुलाई समेत राखिने छ ।

सामुदायिक आइसोलेसन सेन्टरहरुमा नारायणी अस्पतालको सुपरीवेक्षणमा रहने छ भने स्वास्थ्यकर्मीको व्यवस्था वीरगञ्ज महानगरपालिकाले गर्ने र स्वास्थ्यकर्मीहरुलाई सरकारले तोके बमोजिम जोखिम भत्ता तथा अन्य सुविधा नेपाल सरकारकाे तर्फबाट उपलब्ध गराइने बैठकले निर्णय गरेको उनले बताए ।

यस्तै, सदरमुकाम बाहिरका जटिल अवस्थाका सङ्क्रमितहरुलाई मात्र वीरगञ्ज ल्याउने तथा अन्य संक्रमितहरुलाई भने सम्बन्धित स्थानीय तहले पालिकाहरुमानै सामुदायिक आइसोलेसन सेन्टर स्थापना गरी व्यवस्थापन गर्नुपर्ने निर्णय पनि गरिएको छ ।

Back to top