×

आशुकुमार सर्राफ / वीरगञ्ज २४ श्रावन । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कोभिड अस्पताल सञ्चालन गर्ने केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

पर्सामा सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको बेला जिल्लामा सञ्चालित २ कोभिड विशेष अस्पतालमा अपुग भएको विश्लेषण गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेसनल मेडिकल कलेजमा थप ३ सय शैयाको कोभिड अस्पताल सञ्चालनका लागि पहल गर्न केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

अस्पताल सञ्चालनकालागि सङ्कट व्यवस्थापन केन्द्र पर्साले केन्द्रीय सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्दै पत्र पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

यसैगरी नारायणी अस्पतालमा कार्यक्रत ३८ जना स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएका कारण जनशक्तिको आभावले बन्द रहेका अस्पतालका नियमित सेवाहरु पुन: सुचारु गर्न संघ र प्रदेश सरकारसँग स्वास्थ्यकर्मी व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले लक्षण भएका र सामान्य लक्षण भएका सङ्क्रमितहरुलाई राख्न थप सामुदायिक आइसोलेसन सेन्टर सञ्चालन गर्ने पनि निर्णय गरेको छ । सेन्टरका लागि चाहिने खर्च तत्काल जिल्ला प्रशासन गर्ने र थप खर्चमा लागि संघीय स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारलाई अनुरोध गरिएको बस्नेतले बताए ।

वीरगञ्ज महानगरपालिका क्षेत्रमा रहेका विभिन्न सामुदायिक आइसोलेसन सेन्टरहरुमा नारायणी अस्पतालको सुपरीवेक्षण रहने तर स्वास्थ्यकर्मीको व्यवस्था भने महानगरपालिकाले गर्नुपर्ने निर्णय भएको छ ।

वीरगञ्जमा महानगरपालिका वडा नं. ९ घडिअर्वा स्थित गोपाल मण्डली धर्मशालामा १ सय ११ बेडको, वीरगञ्ज महानगरपालिका वडा नं. १३ चिनीमिल आवास क्षेत्रस्थित सिद्दार्थ माध्यमिक विद्यालयमा ६० बेडको, वीरगञ्ज महानगरपालिका वडा नं. ८ लिंकरोडस्थित होटल रानीपोखरीमा ६० बेडको र वीरगञ्ज महानगरपालिका वडा नं. ६ मेनरोडस्थित राणी सति अतिथि सदन धर्मशालामा ६० बेड गरि २ सय ८० को सामुदायिक आइसोलेसन सेन्टर निर्माण गरिने जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्तासमेत रहेका बस्नेतले जानकारी दिए । सामुदायिक आइसोलेसन सेन्टरहरुमा वीरगञ्ज कारागारका कोरोना सङ्क्रमितहरुलाई समेत राखिने छ ।

सामुदायिक आइसोलेसन सेन्टरहरुमा नारायणी अस्पतालको सुपरीवेक्षणमा रहने छ भने स्वास्थ्यकर्मीको व्यवस्था वीरगञ्ज महानगरपालिकाले गर्ने र स्वास्थ्यकर्मीहरुलाई सरकारले तोके बमोजिम जोखिम भत्ता तथा अन्य सुविधा नेपाल सरकारकाे तर्फबाट उपलब्ध गराइने बैठकले निर्णय गरेको उनले बताए ।

बैठकले विगत १५ दिनदेखि जिल्लाको सदरमुकाम वीरगञ्जमा लागेको निषेधाज्ञाले सामान्य मानिसको जीवन कष्टकर बन्दै गएपछि मापदण्डहरु अनिवार्य रुपमा पालना हुनेगरी उचित समयमा सथानीय तह र प्रहरीसँग समन्वय गर्दै खाद्यान्न विक्री वितरणका लागि किरानालगायतका पसलहरु खोल्न दिने निर्णय गरेको हो । पसलहरु खोल्ने समय सबन्धित पालिकाहरुको सङ्क्रमणको अवस्था र आवश्यकताको आधारमा स्थानीय तह र प्रहरीसँग समन्वयमा निर्धारण गरिने छ ।

त्यसैगरि नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखालाई स्वास्थ्य र सुरक्षा सम्बन्धि प्रोटोकलहरुको पालना गर्दै नियूनतम रुपमा भएपनि बैंकिंग सेवा प्रवाह गर्नदिने बैठकमा निर्णय भएको छ ।

यस्तै, सदरमुकाम बाहिरका जटिल अवस्थाका सङ्क्रमितहरुलाई मात्र वीरगञ्ज ल्याउने तथा अन्य संक्रमितहरुलाई भने सम्बन्धित स्थानीय तहले पालिकाहरुमानै सामुदायिक आइसोलेसन सेन्टर स्थापना गरी व्यवस्थापन गर्नुपर्ने निर्णय पनि गरिएको छ ।

Back to top