×

वीरगन्ज २३ श्रावण । देश निर्माणको जिम्मा लिएका ८७ प्रतिशत निर्माण व्यवसायीहरूको कुनै कार्यालय तथा प्रतिष्ठानसम्बन्धी जानकारी दिने बोर्डसमेत नरहेको एक अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको एक अध्ययनअनुसार देशभर १ हजार ६ सय ८ ठेकेदारको मात्र कार्यालय रहेको देखाएको छ । तर, ठेकेदारहरूको संगठन नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकमा भने देशभर १२ हजार ४ सय ८ ठेकेदार (व्यवसाय–प्रतिष्ठान) रहेका छन् । यसलाई आधार मान्दा देशभर १० हजार ८ सय झोले ठेकेदारले देश निर्माणको जिम्मा लिएका छन् ।

अधिकांश ठेकेदारले फर्म दर्ता गराएका छन्, मौसमी काम पनि गर्छन्, तर कार्यालयको जानकारी दिने बोर्ड राखेर काम गर्ने अत्यन्तै न्यून रहेको केन्द्रीय तथ्यांक विभागका आर्थिक गणना शाखाका निर्देशक अनिल शर्माले जानकारी दिए । ‘अधिकांश फर्महरू झोलामा सीमित भएको देखिएको छ,’ उनले भने । त्यस्ता फर्मको गणना गर्न फिल्डमा पठाएका गणकले पनि पत्ता लगाउन नसकेको निर्देशक शर्माले बताए ।

तिनीहरूमध्ये अधिकांशको कार्यालय भेटिँदैन । कार्यालय नै राखिएको भए पनि उनीहरूले कुनै बोर्ड नराखी गोप्यजसरी काम गरिरहेको हुन सक्ने केन्द्रीय तथ्यांक विभागको भनाइ छ । ‘किनकि, उनीहरूलाई खोज्दा भेटिँदैन,’ निर्देशक शर्माले भने । विभागले गरेको आर्थिक गणनाअनुसार निर्माण क्षेत्रका प्रतिष्ठानको संख्या यथार्थभन्दा न्यून आएको छ । ‘हामीलाई पनि यथार्थ विवरण नआएको लाग्छ, तर अर्को विकल्प पनि छैन,’ उनले भने ।

देशभरका निर्माण व्यवसाय गणना गर्दा अधिकांशले बोर्ड राखेर काम गरेको पाइएन । कतिपयलाई फोन गरेर तथ्यांक संकलन गर्न खोज्दा पनि विभिन्न बहाना बनाएर टार्ने र जानकारी दिन नचाहेको पाइयो । कतिपयले भने यसो वेला–मौकामा मात्र काम गर्ने हो भन्ने उत्तर दिएको आर्थिक गणना शाखाका निर्देशक अनिल शर्माले जानकारी दिए ।

‘सकेसम्म जानकारी नदिने र तर्किने गरेको पाइयो,’ उनले भने, ‘केही नलागेपछि सार्वजनिक ठाउँ वा घरमा बोर्ड राखेर बसेकासँग मात्र तथ्यांक लिइएको हो ।’ यसकारण पनि नेपाल निर्माण व्यवसायी महासंघले दाबी गरेको भन्दा निकै कमले मात्र सक्रिय र व्यावसायिक काम गर्ने गरेको भेटिएको विभागको भनाइ छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनअनुसार कुल ठेकेदारमध्ये १२ दशमलव ९५ प्रतिशत ठेकेदारले भने सार्वजनिक रूपमै आफ्नो प्रतिष्ठानको परिचय खुल्ने गरी बोर्ड राखेर व्यावसायिक अभ्यास गरिरहेको भेटिएका छन् । यसरी व्यावसायिक अभ्यास गर्ने १ हजार ६ सय ८ रहेका छन् । कार्यालयको बोर्ड राखेर काम गर्नेमा ए र बी वर्गका अधिकांश ठेकेदार छन् । त्यस्तै, सी वर्गका पनि धेरै छन् । तर, डी वर्गका ठेकेदार भने न्यून छन् । नेपाल निर्माण व्यवसायी महासंघको तथ्यांकअनुसार देशभर डी वर्गका ठेकेदार ८६ दशमलव ५५ प्रतिशत छन् ।

केन्द्रीय तथ्यांक विभागका अनुसार दर्ता भएका देशभरका सबै निर्माण फर्मले आफ्नो जानकारी आर्थिक गणनामा उपलब्ध गराइदिएको भए देशभरका कुल प्रतिष्ठानमा १ दशमलव ३४ प्रतिशत हिस्सा निर्माण क्षेत्रको हुने थियो । तर, अहिले १ हजार ६ सय ८ वटाले मात्र जानकारी दिएका कारण यसको हिस्सा कुल व्यवसाय संख्यामा शून्य दशमलव २ प्रतिशत मात्र रहेको छ ।

आर्थिक गणनामा परेकामध्ये पनि २ सय १२ वटा सरकार र उल्लेख नभएका प्रतिष्ठान छन् । त्यसबाहेक बाँकी रहेका १ हजार ३ सय ९६ वटा प्रतिष्ठानमध्ये महिलाको स्वामित्व ८३ वा पुरुषको स्वामित्वमा १ हजार ३ सय १३ छन् । त्यस्तै, पुरुषको व्यवस्थापन नेतृत्वमा १ हजार ५ सय ६ (९३.९ प्रतिशत) वटा र महिलाको व्यवस्थापन नेतृत्वमा ९७ (६.१ प्रतिशत) प्रतिष्ठान रहेका छन् ।

केन्द्रीय तथ्यांक विभागले आर्थिक गणनामार्फत सार्वजनिक गरिएको निर्माण क्षेत्रमा संलग्न जनशक्तिको संख्या पनि अपेक्षाभन्दा न्यून छ । सार्वजनिक गरिएको गणनाले निर्माण क्षेत्रमा १४ हजार ७ सय ५० मानिस मात्र संलग्न भएको देखाउँछ । त्यसमा पुरुष १२ हजार ६ सय १८ र महिला २ हजार १ सय ३२ रहेका छन् । त्यस्तै, १ सयभन्दा धेरै मानिस संलग्न भएका प्रतिष्ठान २० वटा रहेका छन् ।

ती प्रतिष्ठानमा मात्र ४ हजार २ सय ५२ जना संलग्न रहेका छन् । काठमाडौं, म्याग्दी, उदयपुर, मकवानपुर र ललितपुर जिल्ला धेरै प्रतिष्ठान दर्ता भएका प्रमुख ५ जिल्लामा पर्छन् । त्यस्तै, धेरै मानिस संलग्न भएका प्रमुख ५ जिल्ला काठमाडौं, ललितपुर, उदयपुर, संखुवासभा र मुस्ताङ हुन् ।

मेरै कम्पनीको बोर्ड छैन : रवि सिंह, अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ

अधिकांश निर्माण व्यवसायीले बोर्ड राखेर काम नै गर्दैनन् । मेरै कम्पनीको पनि बोर्ड राखिएको छैन । बोर्ड राख्यो भने अनावश्यक मानिस आउने, दुःख दिने गर्छन् । त्यसबाट बच्न पनि बोर्ड नराखिएको हो । टेन्डरमा भाग लिने र विभिन्न जिल्लामा काम गर्ने गरिएको छ ।

तथ्यांक विभागले व्यवसायीको विवरण नै लिन नसकेको देखियो । महासंघ र जिल्ला संघसँग विभागले समन्वय गरेको भए तथ्यांक अवश्य आउने थियो । तर, जिल्ला र पालिकास्तरका निर्माण व्यवसायीले भने फर्म दर्ता गर्ने र ‘सिजनल’ काम गर्ने गरेको सही हो । साभार nayapatrikadaily.com बाट

Back to top