बेहाल पर्सा जिल्ला, बेहिसाब पर्सामा सांसद, कहा छन ? – कुमार रुपाखेती

317


वीरगन्ज २३ श्रावण । हेमबहादुर मल्ललाई ‘शेरे धनुषा’ भनेझैं कसैकसैले पञ्चायतकालमा चन्द्रदेव चौधरीलाई ‘शेरे पर्सा’ भन्दै चनाको झारमा चढाउँदथे। त्यतिखेर पर्साबाट सांसदको दुई सिट मात्र थियो। एक जमानामा त पर्साका यी दुवै सिट चन्द्रदेव चौधरी र मोहन चौधरीले जितेर पर्सामा चौधरीहरूको डङ्का बजाएका थिए।

कुनै बखत बडाहाकिम तेजबहादुर अमात्यको घरायसी काम गर्ने जयप्रकाश नेपाली (मलाहा) पनि पर्साबाट सांसद र मोहन चौधरीझैं छोटेमोटे मन्त्री पनि बने। पानका शोखिन तेजबहादुर अमात्यलाई रक्सौल निर्वासनका बेला पान खान निस्किएको एक साँझ गोली हानी हत्या गरिएको थियो।

मधेस आन्दोलनको नाममा भानुभक्त, गणेशमान र थीरबम मल्लको सालिक तहसनहस गरे पनि अनेक प्रयत्नका बावजूद गण्डकस्थित शहीद तेजबहादुर अमात्यको आदमकद प्रतिमा ढाल्न सकेनन्। पूर्वसांसद आत्माराम ओझा बाहुनको तिलावे पुलस्थित प्रतिमासमेत त्यतिखेर आन्दोलनकारीहरूको शिकार बन्यो। सांसद हुँदा बाहुनको असल सहयोगी थिइन्, शान्ति कार्की। सुरेन्द्र चौधरीलाई गिरिजाप्रसादले माया गर्दै विज्ञान तथा प्रविधि मन्त्री बनाए। तर प्रेम पुजारी चौधरीलाई यो पदले हात लाग्यो शून्य बनायो।



राजीव पराजुली पर्साका सबैभन्दा भाग्यमानी सांसद मानिन्छन्। राप्रपाको चल्तीका बखत यिनी जलस्रोत मन्त्रीसमेत भए। पर्साका सांसदहरूमध्ये सबैभन्दा महत्वपूर्ण मन्त्रालयमा मन्त्री पद पाउने यिनी भाग्यमानी नै मानिन्छन्। अहिले राप्रपा कमल थापामा सेकेन्डम्यान छन्।

रमेश रिजाल र उर्मिला अर्याल यस क्षेत्रका पाहुना उम्मेदवार हुन्, निर्वाचनका बेला पर्सामा डेरा र निर्वाचनपछि काठमाडौं फिर्ती सवारी। कृष्णप्रसाद भट्टराईलाई समेत पर्साले सांसद बनाएर उनको अधूरो सपना पूरा गरेको थियो तर पर्साको चाहना उनीबाट पनि पूरा भएन। पूर्वसांसद राजेन्द्रबहादुर अमात्यको भाग त उनकै काङ्ग्रेसले खोस्यो। भलाद्मी सांसदको रूपमा उनको गणना तैपनि गरिन्छ।

अहिले पर्सामा चार संसदीय सिट अर्थात् चार क्षेत्र छन्। सबैमा समाजवादीले जितेको छ। सबै संसदीय सिट, विधायक, नगरप्रमुख र मुख्यमन्त्रीसमेत समाजवादीकै पोल्टामा हाल्दा पनि वीरगंज र पर्साका सबै क्षेत्रको विकास टाँय–टाँय फिस्स छ। सङ्क्षेपमा भन्ने हो भने ‘ज्यादा जोगी मठ उजाड’को अवस्था छ यहाँ।

पर्साबाट क्रमशः प्रदीप यादव, विमल श्रीवास्तव, हरिनारायण रौनियार र लक्ष्मणलाल कर्णले जितेका छन्। एक जमानामा प्रदीप यादव राप्रपामा देखिन्थे। पछि यिनी मधेसवादी दलतिर प्रवेश गरे। भनिन्छ, शशिकपूर मियाँले त्यतिखेर यिनलाई फोरममा ल्याउन जोडबल गरे। त्यसै पनि उपेन्द्र यादव हर्ताकर्ता भएको यो पार्टीमा प्रवेश पाउन यादव भएकै कारणले प्रदीप यादवलाई त्यति समस्या थिएन।

छोटो समयको अन्तरालमैं यिनी सांसद बने। जिल्ला अध्यक्ष हुँदादेखि नै यिनले सांसदमा लड्ने वातावरण बनाए। यिनलाई फोरममा ल्याउन जोडबल गर्ने शशिकपूरले त्यतिखेर फोरम नै त्याग्नुप–यो। अब यी दुवै पुनः समाजवादीमा छन्।

पर्सा क्षेत्र नं १ बाट सांसद बनेका यादवले संसदीय क्षेत्र विकास कोषको रकम जिल्लाको उल्लेखनीय फाँटमा खर्च गर्न सकेको देखिंदैन। क्षणिक देखावटी काममा अघि सर्न यिनी माहिर देखिन्छन्। सेनिटाइजर बाँड्ने, कम्बल वितरण, फलफूल वितरण, साडी वितरण, पीडितलाई १०–२० हजार सहयोग दिनेजस्ता वडास्तरको काममा यिनी रमाएको देखिन्छन्।

यस्ता सानातिना झिनामसिना कामलाई यादवले ठूलो काम ठान्छन् र यिनका पिछलग्गुहरूले यस्ता कामको फेहरिस्तसहित फेसबूकमा राख्न भ्याइहाल्छन्। कतिपयले यिनलाई धेरै खरानी घस्ने नयाँ साधु भन्छन्। विभिन्न पेशा–व्यवसायबाट आर्थिक उपार्जन गरेर अगाडि बढेका प्रदीप यादवले स्थानीय प्रशासनका टाउकेहरूसँग नजदिकी बनाएर हिंड्ने पुरानो शोख अझै कायम राखेका छन्। बेला–कुबेला संसद्मा यिनी माइक उठाइरहन्छन् तर बोलीको प्रभाव शून्य प्रतीत हुन्छ। तर्सेर हो कि तर्साउनलाई हो यिनी अगाडि–पछाडि, दायाँ–बायाँ दुई/चार जनालाई नलिएर हिंड्दैनन्।

यिनलाई फुक्र्याएर देश–देशाटन गर्नेहरू पनि छन्। आफ्नो जयजयकार सुन्ने प्रकृतिका यादवलाई जीहजुरी गर्नेहरूको जमातले घेरिरहेको देखिन्छ। तर आफ्नो क्षेत्रमा यिनको उपस्थिति अन्य सांसदको तुलनामा अधिक देखिन्छ। क्षेत्र नं. २ पर्साबाट विमल श्रीवास्तव सांसद छन्। २०३८ सालमा पहिलोपटक प्रधानपञ्च बनेका यिनी करीब चार दशकअघि पञ्चायतकालदेखि नै माननीय बन्न न्वारनको बल लगाउँदै आएका छन्। घाट–घाटका पानी पिएका र पापड बेलेका श्रीवास्तवको तारणहार अन्ततः २०७४ सालमा तत्कालीन फोरम नै बन्यो।

‘गुरु गुड चेला चिनी’ भनेझैं यिनी मातहतका वडाध्यक्ष राजीव पराजुली, कानूनी सल्लाहकार लक्ष्मणलाल कर्ण, नपाकै जनसम्पर्क अधिकृत लालबाबू राउत गद्दी धेरैअघि नै राजनीतिका थुप्रै सिढी माथि उक्लिसकेपछि श्रीवास्तव बल्लतल्ल सांसद पदमा बामे सर्दैछन्। नयाँ चेला राजेशमानले समेत २०७४ को स्थानीय निर्वाचनमा नगरप्रमुख पदमा आफ्नो दमखम देखाए।

अहिले गुरु–चेला दुवै समाजवादी बनेका छन्। आफ्नो क्षेत्रमा कमै मात्र देखा पर्ने र संसद्मा कमै मात्र बोल्ने यिनले नेशनल मेडिकल कलेज र बसरुद्दीनबारे, एन्फा (अखिल नेपाल फूटबल सङ्घ)का अध्यक्षको विरोधमा र कर्मचारीबारे झिनोमसिनो स्वरमा जोडदार विरोध गरे तर कहींकतै कुनै पात नै हल्लिएन। जसले गर्दा यिनको बोली संसद्मा प्रभावशून्य प्रतीत हुन्छ।

यिनको क्षेत्रमा विकासको रकमले गाविसस्तरले गर्ने काम माटो भर्ने, ग्रेभल गर्ने, २–४ वटा कोठा बनाउने अनि हौवा र ठूलो काम भन्दै फेसबूकमा रमिता गरिन्छ। नगरप्रमुख हुँदा गुलजार रहने यिनको कुमालटोलको घर अचेल सुनसान देखिन्छ। प्रदीप यादवझैं श्रीवास्तवको चाहना पनि मन्त्री बन्ने, झन्डा हल्लाउने नै हो। यिनले यो कार्यकालमा झन्डा हल्लाउने चान्स देखिंदैन। नो चान्स।

हरिनारायण रौनियार पर्सा क्ष्Fेत्र नं. ३ बाट सांसद थिए अचेल निलम्बनमा परेका छन्। हरिनारायण भन्दा यिनलाई कसैले चिन्दैन, पप्पु कन्स्ट्रक्शन भन्नासाथ जिल्लाभरिले चिन्छ। भनिन्छ, मोलमोलाइपछि यिनी ठेकेदारबाट फोरममा पसेर सांसद बने। यिनको पप्पु कन्स्ट्रक्शन नेपालभरि नै बदनाम छ र यही पापबाट बच्न यिनी फोरममा छिरे, सांसद बने।

आफ्नै जिल्लाको पुल, पुलेसाको रकमसमेत झ्वाम गर्ने, काम नगर्ने श्रेय जान्छ, यिनलाई। निलम्बनमा परे पनि सांसदको लोगो लगाउने, माइकबाट सांसद सम्बोधन गर्न लगाउने जस्ता कामसमेत गरे यिनले। पप्पु कन्स्ट्रक्शनको थुप्रै अधूरा ठेक्का प्रदेश नं २ मा पनि छन्। नगद भुक्तानी कुम्ल्याउने, कमसल काम गर्ने, काम बक्यौता राख्ने, दसी प्रमाण देखेपछि समाजवादी पार्टीसमेतले यिनलाई पाखा लगाएको छ।

अहिले निलम्बित यिनले आचरण नसुधारे सरिता गिरीझैं बर्खास्तगीमा पनि पर्न सक्छन् रे। पैसाको चलखेल गर्न सिपालु यिनी नगद नारायणले गर्दा नै कठघराबाहिर छन् रे। निलम्बित सांसदको क्षेत्रमा विकास शून्य हुने नै भयो। यिनको पछाडि अचेल समाजवादीका स्थानीय कार्यकर्ता पनि देखिंदैनन्। तिलावे पुलको हरिबिजोग गर्ने पनि पप्पु र हरिनारायण नै हुन्। विन्दवासिनी माताले हामी सबैको कल्याण गरून्।

लक्ष्मणलाल कर्ण पर्सा क्ष्Fेत्र नं. ४ बाट सांसद छन्। कानूनको वकालत गर्दागर्दै यिनी राजनीतिमा हाम फालेको देखिन्छ। सद्भावनाका गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई यिनी आफ्नो आदर्श ठान्छन्। रामजनम तिवारीझैं लठी टेकेर आक्कलझुक्कल दुई/चार जनालाई लिएर वीरगंजमा भौंतारिरहेको देखिन्छन्।

आफूलाई मधेस आन्दोलनको अगुवा ठान्ने यिनी कुनै आन्दोलन र जुलुसमा सरिक भएको देखिंदैनन्। श्रीवास्तवको पालामा नपामा करारमा कानूनी सल्लाहकार नियुक्त भएका यिनले जितेको भन्दा हारेका महत्वपूर्ण मुद्दा कम छैनन्। हरेक घटनालाई कानूनी चश्माले हेर्ने र व्याख्या गर्ने आदतले लाचार छन्, कर्ण।

तर सन्तोषी पनि छन्, विगतमा विनाविभागीय मन्त्रीमा चित्त बुझाउने सन्तोषी र भाग्यमानी मान्छे हुन्, कर्ण। ‘सन्तोषम् परम् सुखम्’ यिनको मूल मन्त्र हो। काम गर्नेलाई पो मन्त्रालय चाहिन्छ। झन्डा हल्लाउन पाए पुग्नेलाई किन चाहियो मन्त्रालय, सन्त्रालय। वकीलहरू त्यसै पनि गफाडी हुन्छन्, गफ हाँकेरै पेट पाल्छन्। लक्ष्मणलाल कर्णको संसदीय विकास कोषको लगानी जति सबै असारको बाढीले बगाइदियो रे। त्यसैले यहाँ विकास बोलेको होइन, स्याल कराएको सुनिन्छ।

विगतमा पेशाले वकालत गर्ने मान्छे, आफ्नो क्षेत्रमा विकास गर्ने पायक ठाउँ पनि देखेनन् रे। कानून देखाएर लकिरका फकिर बनाउने यिनको आदत देखेर यस क्ष्Fेत्रका जनता उनलाई ‘अघाइल बकुला के पोठिया तीत’ भन्न थालेका छन्। बरु वकालतगिरी राम्ररी चलाएका यिनले सांसदगिरी चलाउन नसक्नुमा उमरका तकाजा पनि होला।

विकासमा पछाडि परेको जिल्ला हो, पर्सा। अहिले पनि चार क्षेत्रका एउटै दलका सांसदहरू उत्तर, दक्षिण, पूर्व, पश्चिम फर्किएका छन्। यिनमा एकमत देखिंदैन। आफू आफूमैं खुट्टा तानातान छ। प्रत्येक घटनालाई यिनीहरू आआफ्नै फरक चश्माले हेर्छन्। केहीलाई त सांसद पद ‘नपाउनेले केरा पायो’ जस्तै भएको छ।

सङ्क्षेपमा भन्ने हो भने पर्साका सांसदहरूले अहिलेसम्म सांसदस्तरको काम गरेको देखिंदैन। क्षेत्रको विकासभन्दा यस क्षेत्रका सांसदहरू व्यक्ति विकासमा लागेका छन्। व्यक्ति विकास भनेको अरूको व्यक्तिगत नाफा–नोक्सानको काम गराइदिने प्रवृत्ति देखिन्छ।

पद अनुसारको आचरण नगर्ने, उपरी आम्दानीमा लिप्त, स्तरीय बहस र भाषण गर्न नसक्ने, जनतासँग घुलमिल गर्न नसक्ने तथा दलको नीति जनतालाई बुझाउन अक्षम हाम्रा पर्सेली जनप्रतिनिधिहरू देखेर समाजवादी नेतृत्व झस्केको र सतर्क देखिन्छ। पर्सामा आफ्नो साख जोगाउन समाजवादीले भविष्यमा थुप्रै पुराना अनुहारमा टिपेक्स लगाउने, काँटछाँट गर्ने सम्भावना बढेको छ। राजपा जोडिएपछि त्यसै पनि उम्मेदवारी दाबी गर्नेहरू थपिएका छन्।

‘हम नहीं सुधरेगें’ प्रवृत्तिवालाहरूको टिकट कट्ने र पत्ता साफ हुने पक्कापक्की छ। पर्सा जिल्ला मधेस आन्दोलनको उर्वरभूमि र आकर्षणको केन्द्र भएकोले पनि समाजवादी नेतृत्वको जिम्मेवारी झन् गहन भएको छ। साभार prateekdaily.com बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here