×

वीरगञ्ज २२ श्रावन । वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले उपचार गर्न नमान्दा एक विरामीको मृत्यु भएको छ ।

बिहिबार बिहान श्वासप्रस्वासमा समस्या भएपछी उपचार गराउँन नेसनल मेडिकल कलेज पुगेका वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर निवास ६४ वर्षीय चलितर महतोको अस्पतालले उपचार गर्ना नमान्दा मृत्यु भएको हो । परिवारजनले अस्पतालको लापरवाहीका कारण वृद्धको मृत्यु भएको आरोप लगाएका छन् ।

जिल्ल्ला प्रशासन कार्यालय पर्साले निजि अस्पताललाई जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना जारी गरेकै दिन वीरगञ्जमा यस्तो घटना भएको हो ।

बुधबार राति दिसामा रगत देखिएको र श्वासप्रस्वासमा समस्या आएपछी वृद्धलाई उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको थियो । कोरोना संक्रमण नभएको पुष्टि हुने कागज देखाउँदा समेत अस्पतालले बिरामीको भर्ना लिन नमान्दा विरद्धको मृत्यु भएको भाइ शम्भु महतोले बताए ।

‘विगत केहिदिन देखि दाईको स्वास्थ्यमा समस्या आउँदै थियो, ज्वरो र हल्का खोकी पनि थियो । कोरोना सङ्क्रमण लाग्यो की भनेर हामीले उनको श्रावन ११ र १५ गते गरी दुई पटक पिसिआर परिक्षण गर्न लगायौं, दुवै पटक रिपोर्ट नेगेटिभ आएको थियो, उनले भने, ‘आज अस्पताल पुगेर दुवै रिपोर्ट देखाउँदापनि नेशनल मेडिकल कलेजले दाईलाई भर्ना गर्न मानेन । धेरै बेर कोशिस गर्‍यौं तर सकेनौं ।’

भर्ना गर्न पटक-पटक गुहार गर्दापनि अस्पतालको मूलद्वारामा खटेका सुरक्षाकर्मीहरुले एमडी सा'बको आदेश नदिएसम्म विरामी भर्ना गर्न नमिल्ने भनेर जवाफ दिएको मृतकका भाईले बताए ।

उनले दुई दिन अगाडी दाईलाई ज्वरो र खोकी लाग्नुका साथै शरीरमा कमजोरी महशुस भएपछि नेशनलमै उपचारका लागि लगिएको थियो । तर त्यतिखेर पीसीआर परीक्षण गराएर ल्याउनु भनी फर्काएको महतोले बताए ।

‘दुई दिन पहिला लैजाँदा पीसीआर रिपोर्ट लिएर आउनु भनेर भने । वडा अध्यक्षले रिपोर्ट हिजो मात्रै हातमा दिनुभयो । रिपोर्ट लिएर जाँदा पनि भर्ना गर्न मानेन,’ उनले भने, ‘अस्पताल बाहिरै पुग्दा पनि उपचार नपाएपछि दाइले प्राण त्याग्नुभयो ।’

नेशनल मेडिकल कलेका कोभिड फोकल पर्सन डा. असरफ हुसैनले भने अस्पताल माथि लगाइएको आरोप गलत भएको बताए । उनले पीसीआर रिपोर्ट लिएर आएका बिरामीलाई उपचार नगरी फर्काइएको कुरामा कुनै सत्यता नभएको दावी गरे । ‘पीसीआर रिपोर्ट नेगेटिभ आएका बिरामीलाई त्यसै फर्काउने भन्ने हुँदैन,’ उनले भने, ‘यो आरोप झुटो हो ।’

Back to top