×

वीरगञ्ज २२ श्रावन । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सञ्चालित सम्पूर्ण निजि अस्पतालहरुलाई आफ्नो आइसोलेसन वार्ड निर्माण गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार एउटा सूचना जारी गर्दै सम्पूर्ण निजि अस्पतालहरुलाई आफ्नो आइसोलेसन वार्ड निर्माण गर्दै विमारीलाई बिना चेकजाँच फिर्ता नगर्न निर्देशन दिएको हो ।

पर्सामा सञ्चालित निजि अस्पतालहरुले उपचार गराउँन आएका विरामीहरुलाई अस्पतालले चेकजाँच तथा उपचार नै नगरी फिर्ता पठाउँने गरेको गुनासो आएपछि पर्साका प्रमुख जिल्ला अधिकारिक विष्णुकुमार कार्मीको नेतृत्वमा बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले अब उप्रान्त सबै निजि अस्पतालहरुले आफ्नो आइसोलेसनको व्यवस्था गरी आफु कहाँ आएका विरामीहरुको उचित चेकजाँच र उपचार गर्ने निर्देशन दिएको छ ।

निर्देशनमा विरामीमा कोभिड पोजेटिभ देखिए मात्र विरामीलाई कोभिड अस्पतालमा सिफ्ट गर्न आग्रह गरिएको छ । तर, प्रशासनको बैठकले निजि अस्पतालमा भर्ना हुन् पिसिआर रिपोर्ट आवश्यक पर्ने की नपर्ने बारे कुनै कुरा खुलाएको छैन ।

वीरगञ्जका विभिन्न अस्पतालहरुले पिसिआर रिपोर्ट नभएका विरामीहरुलाई भर्ना गर्न नमानेको व्यापक गुनासो छ । रिपोर्ट नभएका कारण कयौं विरामी उपचारबाट समेत वञ्चित हुन् पुगेका छन् ।

Back to top