×

वीरगञ्ज २२ श्रावन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयकुमार चौरसियामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पिसिआर परिक्षण ल्याबले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार ५६ वर्षीय नेता चौरसियामा समेत कोरोना पोजेटिभ देखिएको हो ।

पुर्वमन्त्री समेत रहेका चौरसियालाई सामान्य ज्वरो र रुघाखोकी लागेपछि उनले पिसिआर परिक्षणका लागि मङ्गलबार आफ्नो स्वाब जम्मा गराएका थिए । बिहिबार थपिएका ४३ सङ्क्रमित मध्ये एक नेता चौरसिया समेत रहेका छन् ।

चौरसियाको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल आफ्नो घरमै रहेको आइसोलेसनमा रहेका छन् । उनले चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना हुनुपरे आफु भर्ना हुने जनाए ।

'सामान्य रुघाखोकी र ज्वारो आएपछि कोरोनाको शङ्का लागेर मैले नारायणी अस्पताल पुगेर पिसिआर परिक्षणका लागि आफ्नो स्वाब जम्म गराएको थिए,' नेता चौरसियाले भने, 'आज रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको छ । मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ, होम आइसोलेसनमा छु । आवश्यकता परे चिकित्सकको सल्लहा अनुसार अस्पताल भर्ना हुनेछु ।'

नेपाली कांग्रेसको तराई मधेस समन्वय विभागका प्रमुख चौरसिया केहिदिन अगाडी पार्टीको महाधिवेशनका बिषयमा छलफल गर्न काठमाडौँ पुगेका थिए ।

श्रावनयता पर्सामा ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु समेत भएको छ ।

Back to top