×

रितेश त्रिपाठी/वीरगञ्ज २१ श्रावन । व्यापारिक नगरी वीरगञ्जमा पछिल्लो १० दिनदेखि निषेधाज्ञा लगाइएको छ । यसबाट सहरको जनजीवनमा स्वाभाविक रूपमा भयावह शान्ति देखिएकै छ, यहाँ भएर हुने व्यापारिक कारोबार पनि प्रभावित बनेको छ ।

साउन सुरु भएयता पर्सामा ४ सय ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणको दायरा फराकिलो हुँदै गएपछि सांसद प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी तथा वडाध्यक्ष, चिकित्सक, प्रहरी, सेना, सरकारी अधिकृत, पत्रकारलगायत सबै क्षेत्रका मानिस संक्रमित भएका छन् । पहिलेदेखि यहाँ ५० बेडको अस्थायी कोरोना विशेष अस्पताल थियो भने चार दिनअगाडि सय बेडको अस्पताललाई कोरोना विशेष बनाइएको छ । मंगलबारसम्म यहाँ अस्पतालको बेड क्षमताभन्दा तीन गुणा बढी संक्रमित भेटिएका छन् ।

जति संक्रमित अस्पतालको आइसोलेसनमा छन्, त्यसको दोब्बर अस्पतालबाहिर समुदायमै छन्, होम आइसोलेसनमा । साउन लागेसँगै समुदायमा लक्षणसहितका कोरोना संक्रमित थपिने क्रम सुरु भएपछि बाध्यतावश निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञाअगाडिको वीरगञ्ज भने फरक थियो । लकडाउन खुकुलो हुँदै गएर बजार, व्यापार र जनजीवन सामान्य बन्न थालिसकेका थिए । मानिसमा कोरोनाको भय पनि हराएजस्तो देखिएको थियो । मास्क लगाउने र भौतिक दूरी कायम राख्ने जस्ता कुराप्रति बेवास्ता गरेको देखिन्थ्यो । भयावह स्थिति आउन यो एउटा पृष्ठभूमि बन्यो ।

वीरगञ्जमा सुरुमा चैत ३० मा चारजना भारतीय मुस्लिम धर्म प्रचारकमा कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख अन्तिमसम्म संक्रमित संख्याले सय नाघेको थियो । त्यति बेला संक्रमितहरू लक्षणयुक्त थिएनन् र संक्रमणमुक्त भएर एकपछि अर्को गरी आइसोलेसनबाट फूलमाला लगाएर निस्किए । जेठ १४ सम्म वीरगञ्जको नारायणी कोरोना अस्पताल खाली नै भयो । अहिले फेरि साउन पहिलो सातादेखि कोरोना संक्रमण बढ्दो छ, मानिसमा भय छ । यस्तो अवस्था आउनुमा जानकारले चारवटा कारण औंल्याएका छन्, ‘एक, अपर्याप्त तयारी, दुई, सीमापारिबाट अनियन्त्रित प्रवेश, तीन, खराब क्वारेन्टिन र चार, अपर्याप्त ट्र्याकिङ तथा टेस्टिङ ।’

अपर्याप्त तयारी

विश्व स्वास्थ्य संगठनले अवस्था अझ भयावह हुने भनेर पूर्वतयारीका लागि अनुरोध दोहो¥याइरहेका बेला नेपालमा भने लकडाउन खुकुलो हुँदै गएको थियो । लकडाउन चलिरहँदा मानिसको जीवन धान्न कठिन हुँदा राहत र सरकारी सहयोग नाममात्रको रह्यो । यता वीरगञ्जमा परीक्षण प्रयोगशाला, त्यसका लागि चाहिने सामग्री र जनशक्तिको व्यवस्था पनि गरिएन ।

राजनीतिक दलका नेतादेखि निर्वाचित जनप्रतिनिधिसम्म काम कम, प्रचार बढी गर्नेतिर केन्द्रित थिए । केन्द्र सरकारको बेवास्ता त छँदै थियो, प्रदेश सरकारले पनि ठोस कार्य गर्न सकेन । १४ स्थानीय तह भएको पर्सा जिल्लामा अन्तरपालिका र अन्तरनिकाय समन्वय पनि फितलो भयो । जसले गर्दा हुनुपर्ने तयारी पुगेन । अवस्था बिग्रिनुमा अपर्याप्त पूर्वतयारी एउटा मुख्य कारण रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर स्विकार्र्छन् । ‘हामीकहाँ पूर्वतयारी भएन’, उनले भने, ‘केन्द्र, प्रदेश र स्थानीय तहका सरकार र विभिन्न निकायबाट निर्णय तथा कारबाही आवश्यक हुन्छ । कुनै एउटा पक्षको मात्र कमजोरी भयो भन्न मिल्दैन ।’

सीमापारिबाट अनियन्त्रित प्रवेश

सरकारले चैत ११ देखि देशभर लकडाउन घोषणा गरेपछि सीमामा आवतजावत बन्द गरिएको थियो । तर उक्त कडाइ धेरै समय कायम रहन सकेन । मूल नाकातिर आवतजावत बन्द भए पनि चोर बाटोबाट मानिस आवतजावत गरिरेहका थिए । सीमामा बसेका सुरक्षाकर्मीलाई प्रभावमा पारेर वा लुकीछिपी प्रवेश गर्नेको संख्या बढ्दै गएको थियो । जति बेला भारतको बिहार प्रान्तमा संक्रमण दर उच्च विन्दुमा थियो त्यति बेला त्यहाँबाट आएका मानिस घरपरिवारमा गई समुदायमा बसेपछि संक्रमण छरियो ।

त्यस्तै लकडाउनका दौरान चोरीपैठारी र चोरीनिकासीजस्ता तस्करीका गतिविधि नियन्त्रणमा सुरक्षा निकायको प्रयास अपुग भयो । मालवस्तुको अवैध पैठारीसँगै सीमामा ओहोरदोहोर गर्नेहरू संक्रमण भित्र्याउन सहायक बने । व्यापारिक नाकाबाट हुने वैध व्यापारका लागि ढुवानीका सवारीसाधन लिएर आउने चालकहरू यता आएर बस्ने, खाजा–खाना खाने र घुलमिल हुने गरिरहेका थिए । ‘आइसिपीसँग जोडिएको सिर्सिया गाउँमा धेरै संक्रमित

देखिएका छन्’, वीरगञ्ज भन्सार नाकामा सञ्चालनमा रहेको आइसिपीनजिकैको गाउँ बहुअरीका अनिल तिवारीले भने, ‘भन्सारबाट मालवस्तु ढुवानी गरेर भित्रिने सवारीसाधनका चालक–सहचालकबाट संक्रमण नफैलियोस् भनेर सवधानी अपनाइएन, नियमन गर्ने मापदण्ड बनाइएन ।’

भद्रगोल क्वारेन्टिन

जेठ १४ पछिको समयमा विभिन्न पालिकामा रहेका क्वारेन्टिनबाट कोरोना संक्रमण देखिन थाल्यो । क्वारेन्टिनमा भारतबाट फर्किएर आएकाहरू बसेका थिए । कहींकहीं नेपालकै अरू सहरबाट आएकालाई पनि क्वारेन्टिनमा राखिएको थियो । सँगसँगै क्वारेन्टिनको दुरवस्थाको खबर पनि बाहिरिन थाल्यो । ती खबर भारतबाट फर्किनेहरूका लागि चासोका विषय थिए । र उनीहरू क्वारेन्टिनमा बस्न डराएका थिए ।

पर्साको धोबिनी गाउँपालिकाको लँगडीस्थित क्वारेन्टिनमा बसेकाहरूले पिसिआर जाँच गराएको ५ दिनपछि पनि रिपोर्ट के आयो थाहा पाएनन् । उनीहरूमध्ये ४४जना २२औं दिन एकसाथ निस्किएर भागे । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार रातभरि प्रहरी खटाएर उनीहरूलाई क्वारेन्टिन फर्काइएको थियो । क्वारेन्टिनमा बस्ने, खाने, पिउने पानी, शौचालय, स्वास्थोपचारको सुविधा नभएको र लामो समयसम्म बस्नुपर्ने बाध्यताका कारण लुकीछिपी घरमै गएर बस्नेहरू बढे, जसले संक्रमण फैलिन मद्दत मिल्यो ।

अपर्याप्त ट्र्याकिङ तथा टेस्टिङ

संक्रमितको सम्पर्कमा आएका व्यक्तिको ट्र्याकिङ र टेस्टिङ गर्ने कार्य चलुन्जेल वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढे पनि अवस्था अनियन्त्रित भएन । असार मध्यदेखि ‘कन्ट्याक्ट ट्रेसिङ’ बाहेकको परीक्षण बन्द थियो । असार अन्त्यमा वीरगञ्जको अस्थायी कोरोना अस्पतालमा पर्साका दुईजना संक्रमितमात्रै थिए । त्यति बेला सरकारले पैसा तिरेर पिसिआर परीक्षण गर्न सकिने घोषणा गरेसँगै वीरगञ्जमा सशुल्क परीक्षण गराउनेहरू बढे । परीक्षणसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढ्न थाल्यो ।

मानिसले आफूखुसी परीक्षण गराउँदा संक्रमण देखिन थालेपछि सरोकारवालाको मनमा चिसो पस्यो । वीरगञ्ज महानगरपालिकाले समुदायमा एक घर एक परीक्षण गर्ने भनेर चन्दा उठाएर पिसिआर मेसिन र आवश्यक सामग्री खरिद गरे पनि बेलैमा परीक्षण गराउन भने सकेन ।

महानगरका नगरप्रमुख विजय सरावगी अहिले आफैं पनि संक्रमित छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वीरगञ्जलाई ग्रिन जोन बनाउने उद्देश्यका साथ एक घर एक परीक्षणको अभियान सञ्चालन गर्ने भनिए पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ । सेवामा अनवरत रूपमा लाग्दालाग्दै म स्वयं संक्रमणको चपेटामा परेको छु ।’

सरकारले झन्डै चार महिना लामो लकडाउन सकिएको घोषणा गरेको तीन दिन नबित्दै व्यापारिक सहर वीरगञ्जमा बढ्दो महामारी नियन्त्रण गर्न स्थानीय प्रशासनले यहाँ अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । महानगर क्षेत्रमा घोषित निषेधाज्ञा सोमबारदेखि जिल्लाभरि लागु गरिएको छ ।

पत्रकार रितेश त्रिपाठीले यो खबर आजको नागरिक दैनिकमा लेख्नुभएको छ ।

Back to top