×

वीरगञ्ज १७ श्रावन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरभर मात्र रहेको अनिश्चितकालिन निषेधाज्ञालाई विस्तार गरेर जिल्लाभरि विस्तार गर्ने निर्णय गरेको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय पर्साले एउटा सूचना जारि गर्दै महानगरभर रहेको निषेधाज्ञालाई विस्तार गरेर जिल्लाभरमा लागु हुने निर्णय गरेको हो । श्रावन १९ गते सोमबारदेखि बिहान ५ बजेबाट लागु हुने निषेधाज्ञा पर्सा जिल्लाभर विस्तार गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम वीरगञ्ज महानगरपालिका क्षेत्र भित्र अर्को सूचना जारी नभईन्जेलसम्मका लागि लागु गरिएको निषेधाज्ञा पर्सा जिल्लाभर विस्तार गर्ने निर्णय आज बसेको सुरक्षा समितिको बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काम बाहेर अन्य अवस्थामा बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट मानिसहरुको आवागमन रोक्ने पनि निर्णय गरेको छ ।

यी क्षेत्रहरु खुल्नेछन्

शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, आइसीपी, ड्राईपोर्ट, बैंक (भन्सार, आइसिपी र डाईपोर्टमा रहेका मात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा मात्र खुल्ला रहनेछन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन मात्र चल्नेछन् ।

यी क्षेत्रहरु बन्द रहनेछन्

अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द हुनेछन् ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक बस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा बन्द रहनेछन् ।

Back to top